रवितर्फ शंकर पोखरेलको संकेत– कसलाई कतिबेला बोलाएर अनुसन्धान गर्ने भन्ने प्रहरीको विषय हो
उनले रवि लामिछानेले सहकारी प्रकरणको अनुसन्धान नै अवरुद्ध गर्न खोजेको आरोप लगाउँदै पक्राउ परेका गोर्खा मिडियाका साझेदारमध्ये एक छविलाल जोशीको बयानका आधारमा अनुसन्धान अगाडि बढ्ने उल्लेख गरे।कैलाली, असोज ९ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले कसलाई कतिबेला बोलाएर अनुसन्धान गर्ने भन्ने प्रहरीको विषय भएको बताएका छन्। बुधबार धनगढीमा सञ्चारकर्मीहरुसँग रवि लामिछानेतर्फ संकेत गर्दै उनले यस्तो बताएका हुन्।
‘कसलाई कतिबेला बोलाएर अनुसन्धान गर्ने भन्ने नेपाल प्रहरीको विषय हो। त्यसमा राज्यले चासो राख्ने, हस्तक्षेप गर्ने भन्ने हुँदैन, गर्दैन पनि,’ नेता पोखरेलले भने।
उनले रवि लामिछानेले सहकारी प्रकरणको अनुसन्धान नै अवरुद्ध गर्न खोजेको आरोप लगाउँदै पक्राउ परेका गोर्खा मिडियाका साझेदारमध्ये एक छविलाल जोशीको बयानका आधारमा अनुसन्धान अगाडि बढ्ने उल्लेख गरे।
अनुसन्धानलाई नै रोक्ने गरी रवि र रास्वपाबाट गतिविधि भइरहेको छ बताउँदै उनले यो कानुनी राज्यमाथिको उपहास हो भएको बताए। उनले कुनै पनि राजनीतिक दल र नेतृत्वले अभियोग लाग्दा अनुसन्धानमा सहयोग गर्नुपर्ने बताए।
सुशासनका ठूला कुरा गरेर दल बनाउने अनि आफूमाथि उठेका प्रश्नको सन्दर्भमा अनुसन्धान प्रक्रियामा जान नमान्नु उचित नभएको पोखरेलको तर्क छ।
अभियोग कति गम्भीर छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ताले समेत बुझ्नुपर्ने उनले बताए।
कानुनविपरित सहकारीको रकम ल्याएर एउटा कम्पनी खडा गरेर टेलिभिजन सञ्चालन गर्नु अन्त्य हानिकारक भएको उनले बताए। आम सञ्चार माध्यम संकटमा रहेको बेला सहकारीको रकम दुरुपयोग गरेर महत्वाकांक्षाका साथ टेलिभिजन सञ्चालन गरेको प्रष्ट भइसकेको उनले बताए।
संसदीय समितिले कारबाहीको सिफारिस गरेको व्यक्तिले आफू निर्दोष छु, क्लिन चिट पाएँ भनेर घोषणा गर्नु अनुचित भएको पोखरेलले बताए। अदालतबाट सफाइ पाएपछि मात्र क्लिनचिट प्राप्ट हुने बताए।