अग्नि सापकोटाविरुद्धकाे मुद्दाकाे आज फैसला हुने
सापकोटामाथि काभ्रेका अर्जुन लामालाई अपहरण गरी हत्या गरेको आरोप छ। अर्जुनकी पत्नी पूर्णमाया लामा, कनकमणि दिक्षीत र सुशिल प्याकुरेलसहित ८ जनाले सापकोटाविरुद्ध मुद्दा दायर गरेका थिए।काठमाडौं, ९ असोज : सर्वाेच्च अदालतले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको अपहरण तथा हत्यासम्बन्धी मुद्दामा आज फैसला सुनाउने भएको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले सापकोटाविरुद्ध मुद्दाको निर्णय सुनाउने भएको हो।
सापकोटाविरुद्ध मुद्धाको निर्णय सुनाउने मिति पटकपटक तोकिए पनि संवैधानिक इजलासले निसुको मिति सार्दै आएकोमा बुधबार सापकोटाविरुद्धको मुद्दाको निर्णय सुनुवाइका लागि पेशी तोकिएको छ।
सापकोटाविरुद्ध संवैधानिक इजालसमा तीनवटा मुद्दा छन्। उनीमाथि काभ्रेका अर्जुन लामालाई अपहरण गरी हत्या गरेको आरोप छ।
अर्जुनकी पत्नी पूर्णमाया लामा, कनकमणि दिक्षीत र सुशिल प्याकुरेलसहित ८ जनाले सापकोटाविरुद्ध मुद्दा दायर गरेका थिए। २०६२ वैशाख १६ गते तत्कालीन माओवादीको अपहरणमा परेका लामाको दुई महिनापछि शव फेला परेको थियो।
लामाकी पत्नी पूर्णमायाले आफ्ना श्रीमानको हत्यामा नेता सापकोटा संलग्न रहेको उल्लेख गर्दै २०६९ मङ्सिर ७ गते जिल्ला अदालत काभ्रेमा मुद्धा दायर गरेकी थिइन्। सोही मुद्दाको पुनरावेदन सर्वाेच्चमा आएको हो।
त्यसअघि २०७२ चैत २२ गते सर्वाेच्च अदालतका तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले मुद्दा संवैधानिक इजलासमा हेरिने आदेश दिएको थियो।
उक्त आदेशपछि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले नेता सापकोटाविरुद्ध द्वन्द्वकालमा काभ्रेका अर्जुन हत्याको घटनामा उक्त आयोगमा परेको उजुरीको प्रतिलिपी मगाउन आदेश जारी गरेको थियो।