जनमत पार्टीले चार केन्द्रीय सदस्यसहित ८ नेतालाई किन सोध्यो स्पष्टीकरण ?
जनमतको केन्द्रीय अनुशासन समितिले मंगलबार पार्टीका आठजना नेताहरूलाई सात दिने स्पष्टीकरण सोधेको हो।काठमाडौं, असोज ८ । जनमत पार्टीले चार जना केन्द्रीय सदस्यसहित पार्टीका ८ नेतालाई स्पष्टीकरण सोधेको छ।
जनमतको केन्द्रीय अनुशासन समितिले मंगलबार पार्टीका आठजना नेताहरूलाई सात दिने स्पष्टीकरण सोधेको हो।
स्पष्टीकरण सोधिएका केन्द्रीय सदस्यहरूमा महोत्तरीको जलेश्वर नगरपालिका-३ का दिपेन्द्र मधेशी, महोत्तरी नगरपालिका-१ का कोमल यादव, मनराशिशवा नगरपालिका-४ का इन्द्रप्रसाद सिंह र एकडारा गाउँपालिका-१ का सुरश ठाकुर छन्।
त्यस्तै जलेश्वर नगरपालिकाका पालिका सचिव सञ्जिता यादव, साधारण सदस्यहरू; एकडारा गाउँपालिका-३ का सन्तोषकुमार यादव, एकडारा गाउँपालिका-५ का सिंहेश्वर मण्डल र सम्मी गाउँपालिका-७ का रामजीवन साहलाई पनि जनमतले स्पष्टीकरण सोधेको छ।
उनीहरूविरूद्ध असोज ५ गते जिल्ला समन्वय समिति महोत्तरीको हलमा भएको जनमत पार्टीको प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रममा बिथोल्न खोजेको आरोप छ।
हो हल्ला गरी कार्यक्रम बिथोल्नु गरेको, गुटबन्दी तथा भाँडभैलो गरेको साथै पार्टीको अहित हुने कार्यमा संलग्र भएको देखिएको हुँदा जनमत पार्टीको बिधानको धारा ३९ (क) को उपधारा १, २, ३, ४, ५, ६, १०, ११ आकर्षित हुने हुँदा तपाईंहरूलाई सधारण सदस्य समेत नरहने गरी किन कारबाही नहुनुपर्ने हो ७ दिनभित्र लिखित स्पष्टीकरण दिनुहुन अनुरोध छ,’ जनमतको केन्द्रीय अनुशासन समितिले जारी गरेको सूचनामा भनिएको छ।