१० वर्षे द्वन्द्वका कारण देशको मूल्यवान समय खेर गयो : प्रदीप ज्ञवाली
बहुदल आएको पाँच वर्षभित्र त्यसको विरुद्धमा हतियार उठाउनुपर्ने कुनै जरुरत नै थिएन ।काठमाडौं, असोज ८ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले १० वर्ष अकारण मुलुक द्वन्द्वमा धकेलिएको बताएका छन्।
मंगलबार राष्ट्रिय युवा संघ नेपाल साइबर सर्कल विभागद्वारा आयोजित ‘डिजिटल मिडिया साक्षरता र कार्यशाला’ कार्यक्रममा उनले १० वर्षको द्वन्द्वका कारण देशको मूल्यवान समय खेर गएको भन्दै विकास गर्ने पैसा गोला बारुदमा खर्च गरेपछि सबै कुराहरु पछि धकेलिएको बताएका हुन् ।
‘१० वर्ष अकारण मुलुक द्वन्द्वमा धकालियो । कारण केही पनि थिएन । बहुदल आएको पाँच वर्षभित्र त्यसको विरुद्धमा हतियार उठाउनुपर्ने कुनै जरुरत नै थिएन । इतिहासमा एउटा ठूलो प्रश्न छ त्यो १० वर्ष देशको मूल्यवान समय खेर नै गयो । विकास, समृद्धि सबै कुरा गए, विकास गर्ने पैसा गोला बारुदमा खर्च गरेपछि सबै कुराहरु पछि धकेलियो,' उनले भने।
त्यसले गरेको क्षति परिपूर्ति गर्न अर्को १० वर्ष लागेको पनि उनले बताए । 'एउटा राजनीतिक मुद्दा त्यसले सिर्जना गरेका अवस्थाहरु र त्यसको व्यवस्थापनका लागि २० वर्ष खर्च गर्नपर्यो,' उनले भने।
यसको साथै उनले प्रायोजित तरिकाले गणतन्त्र मन नपराउनेहरुले देश बन्दैन्, भन्ने भाष्य निर्माण गरेको भन्दै एमालेले त्यसलाई चिरेर देशलाई अगाडि बढाउनुपर्ने बताए ।
'कुनै ठाँउमा चुकेका पनि छौ, त्यसलाई अस्विकार गर्नुपर्ने कुनै कारण पनि छैन् । हामीले कसरी समस्याको समाधान गरेर अगाडि बढ्न सक्छौ त्यो पाटोबाट पनि हेरौं । तर प्रायोजित तरिकाले गणतन्त्र मन नपराउनेहरुले त्यसमा भएका कमजोरी मात्र देखाउने कुरा र प्रायोजित तरिकाले गर्न खोजिएको कामलाई बदल्छौ, ’ उनले भने।
यस्तै, भूकम्प, कोभिडका कारणले पनि देश पछाडि परेको भन्दै गरेका प्रयास निराशाजनक नभएको पनि उनको भनाइ छ ।