Kathmandu Press

०८४ को चुनावअघि नै कांग्रेससँगको गठबन्धनमा रहन्नौं : ईश्वर पोखरेल

'आगामी चुनावबाट एमाले निर्णायक राष्ट्रिय शक्ति बन्छ'
०८४ को चुनावअघि नै कांग्रेससँगको गठबन्धनमा रहन्नौं : ईश्वर पोखरेल

काठमाडौं, असोज ७ । नेकपा (एमाले) का कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले अहिले एउटै समीकरणमा भएपनि २०८४ को चुनावमा एमालेले कांग्रेससँग प्रतिस्पर्धा गर्ने बताएका छन्।

प्रेस चौतारी नेपाल, सिन्धुलीले सोमबार सिन्धुलीमाडीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले मुलुकको आवश्यकताअनुसार अहिले सत्ता साझेदारी गरेपनि आगामी निर्वाचनमा एमाले र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने बताएका हुन्।

Hardik ivf

उनले वर्तमान गठबन्धन चुनावअघिसम्म मात्रै हुने पनि दाबी गरे।

‘अहिले सङ्कट टार्न र मुलुकको परिस्थिती थप नविग्रियोस् भन्नका लागि एक ठाउँमा आएर साझा सहमतिका साथ अगाडि जानुपर्छ भनेर समीकरण बनेको हो,' पोखरेलले भने, 'अब आउने निर्वाचनमा प्रतिस्पर्धा गर्दैनौं भन्ने होइन, हामी चुनाव हुनुअघि नै गठबन्धनको पक्षमा हुन्नौं । यो हाम्रो क्लियर धारणा छ।'

उनले आगामी चुनावबाट एमाले निर्णायक राष्ट्रिय शक्ति बनेर अगाडि आउने पनि बताए। एमाले निर्णयक राष्ट्रिय शक्ति बनेर अरु राष्ट्रिय शक्तिलाई राष्ट्रको स्वाभिमान, स्वतन्त्रता, स्वाधिनता, अखण्डको पक्षमा उभ्याउने उनको भनाइ थियो।

उनले नेपालमा कांग्रेस र कम्युनिष्टको दुई आयामिक सम्बन्ध रहेको पनि बताए। 'दुई पार्टीबीच अप्ठ्यारो र संकटको अवस्थामा सहकार्यको परम्परा र राज्य सञ्चालनमा प्रतिष्पर्धा हुन्छ,' उनले भने।

पोखरेलले देशको भाग्य र भविष्य बनाउन राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्ने पनि बताए।

'अहिले देशमा देखिएको सङ्कटलाई थप बढ्न दिनु हुँदैन । अबको अवस्थामा होस् नपुर्‍याए देशलाई कसरी बचाउने भन्ने गम्भीर प्रश्न आउँछ । त्यसकारण पनि राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ,' उनले भने।

प्रकाशित मिति: २०:०७ बजे, सोमबार, असोज ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्