काठमाडौंमा भारतीय जवानको सम्झना, भारतीय राजदूतद्वारा पुलवामा आक्रमणको निन्दा
काठमाडौं, फागुन १६ : काठमाडौं स्थित भारतीय दुतावासले पुलवामा आक्रमणमा ज्यान गुमाउने भारतीय जवानहरूको सम्झनामा एक श्रद्धाञ्जलि सभाको आयोजना गरेको ....

काठमाडौं, फागुन १६ : काठमाडौं स्थित भारतीय दुतावासले पुलवामा आक्रमणमा ज्यान गुमाउने भारतीय जवानहरूको सम्झनामा एक श्रद्धाञ्जलि सभाको आयोजना गरेको छ ।
भारतीय दुतावासमा बुधबार साँझ आयोजित सभामा भारतीय राजदूत मञ्जिव सिंह पुरी, अन्य वरिष्ठ भारतीय अधिकारी र दुतावास कर्मचारीहरूले पुलवामा आक्रमणका ज्यान गुमाउने जवानहरूको तस्वीरमा श्रद्धासुमन अर्पण गरेका थिए ।

सभालाई सम्बोधन गर्दै राजदूत पुरीले पुलवामा आक्रमणलाई एक घृणित र अक्षम्य अपराधको रुपमा निन्दा गरे । उनले भने, ‘पुलवामामा शहादत्त प्राप्त गर्ने हाम्रा जवानहरूले देखाएको साहस र शोर्य देशभक्तिको एक चम्किलो उदाहरण हो ।’
भिडियो रिपोर्ट
गएको प्रेम दिवसमा पाकिस्तानमा रहेका भनिएका आतंककारीहरूले भारतको जम्मु–कश्मिर राज्यको पुलवामा जिल्लास्तिथ भारतीय सीआरपीएफ (सेन्ट्रल रिजर्भ पुलिस फोर्स) बेसमा आत्मघाती आक्रमण गरेका थिए । त्यस आक्रमणमा ४० भारतीय सुरक्षाकर्मीको ज्यान गएको थियो ।

भारतीय हवाई सेनाले पुलवामा आक्रमणको जवाफमा पाकिस्तानको आकाशमा प्रवेश गरी बमबारी गरेको छ । भारतले पुलवामा आक्रमणको जिम्मा लिने आतंककारी समूहको बेसमा आक्रमण गरी ३ सयभन्दा बढी जेहादीको ज्यान लिएको दाबी गरेको छ । तर, पाकिस्तानले भने भारतीय हवाई सेनाले खसालेको बम खाली वन क्षेत्रमा परेको दाबी गरेको छ ।
पुलवामा आक्रमणको विषयलाई लिएर भारत र पाकिस्तान युद्धको सँघारमा पुगेका छन् । सार्क अध्यक्ष नेपालले एक विज्ञप्ति प्रकाशित गरी भारत र पाकिस्तानलाई संयम राख्न आग्रह गरेको छ ।











