संविधान संशोधनका लागि दलबीच छलफलको पहल सुरु भएको छ : सभामुख घिमिरे
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले संघीयता कार्यान्वयनका लागि कानुन अभाव रहेकाले संविधान संशोधनका विषयमा राजनीतिक दलबीच छलफलको पहल सुरु भइसकेको बताएका छन्।विराटनगर, ७ असोज : संविधान संशोधनका विषयमा राजनीतिक दलबीच छलफलको पहल सुरु भइसकेको सभामुख देवराज घिमिरेले बताएका छन्।
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले संघीयता कार्यान्वयनका लागि कानुन अभाव रहेको बताए। उनले भने-‘संविधान संशोधन कसरी गर्ने, प्रक्रिया के हो, कुन विषयमा र कहिले संशोधन गर्ने भन्ने विषयमा राजनीतिक दलबीच बृहत्तर समझदारीको आवश्यक रहेको छ।’
सभामुख घिमिरेले निजामती सेवा ऐन, प्रहरी संगठन सञ्चालन सम्बन्धी ऐन, शिक्षा ऐन निर्माण गर्न सकियो भने संविधान कार्यावन्यनमा देखिएका समस्या समाधान हुने धारणा राखे।
हालै अन्त्य भएको बर्खे अधिवेशनमा २० वर्षदेखि अधुरो रहेको शान्ति प्रकियालाई टुंगो लगाउने विधेयक पास गरेको, बजेट समयमै पास गरेको र सहकारीको रकम अपचलनका सम्बन्धमा गठित संसदीय विशेष छानबिन समिति गठन गरी प्रतिवेदन समेत सरकारलाई बुझाएकाले संसद्ले प्रतिकुलताका बीच समयमा काम सम्पन्न गरेको सभामुख घिमिरेको भनाई छ।