भाषा, साहित्य, संस्कृति देशको गौरव र पहिचान हो : राष्ट्रपति
‘हाम्रा भाषा, साहित्य, संस्कृति तथा हामीसँग रहेका मौलिक एवं रैथाने ज्ञान परम्पराको संरक्षण, संवर्धन र विकास गर्नु हाम्रो परम कर्तव्य हो,’ उनले भने।-(18)-1727075607.jpeg)
काठमाडौं, असोज ७ : राष्ट्रपति रामचन्द्र पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव र पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृति भएको बताएका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानको ६७औं वार्षिक उत्सवका अवसरमा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव २०८१ को पुरस्कार समर्पण समारोहलाई राष्ट्रपति भवन शीतल निवासमा सोमबार सम्वोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरे।
‘हाम्रा भाषा, साहित्य, संस्कृति तथा हामीसँग रहेका मौलिक एवं रैथाने ज्ञान परम्पराको संरक्षण, संवर्धन र विकास गर्नु हाम्रो परम कर्तव्य हो,’ उनले भने।
राष्ट्रपति पौडेलले भाषा, साहित्य, संस्कृति, दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको बताए।
‘भाषा मानिसका चाहना, भावना, विचारहरूको विनिमय गर्ने सशक्त माध्यम हो। साहित्य भाषाको सबैभन्दा सुन्दर एवं कलात्मक अभिव्यक्ति हो,’ उनले भने, साहित्यले भाषालाई श्रुतिमधुर बनाउने काम त गर्छ नै साथसाथै भाषालाई युगौँ युगसम्म जीवित राख्ने काम पनि गर्छ।’
उनले मानिसका ज्ञान, अनुभव, अनुभूति, विचारलाई संरक्षण, सम्प्रेषण र सञ्चरणमा साहित्यको अहम् भूमिका रहेको उल्लेख गरे। सो अवसरमा राष्ट्रपति पौडेलले विजयी कविहरूलाई पुरस्कार प्रदान गरे।












