पार्टी कार्यालयमा भीडलाई सम्बोधन गर्दै रविले भने- कसैको राजनीति बचाइदिन मैले बली चढ्नुपर्ने?
‘मलाई सरकारको अनुकम्पा चाहिँदैन, तर कुनै अन्याय गर्न पाइँदैन। कसैको राजनीति बचाइदिनका लागि मैले बलिबेदीमा चढ्नुपर्ने,’ लामिछानेले भने।काठमाडौं, असोज ७ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कार्यालयमा जम्मा भएको भीडलाई सम्बोधन गर्दै आफूमाथि सरकारले ट्रायल गरिरहेको आरोप लगाएका छन्।
गोर्खा मिडिया प्रालिका सञ्चालक छविलाल जोशी प्रहरीले आइतबार दिउँसो पक्राउ गरेपछि आफू पनि पक्राउ पर्ने आशंकाकाबीच लामिछानेले आइतबार साँझ उपत्यका भित्रका पार्टीका नेता तथा कार्यकर्तालाई कार्यलयमा बोलाएका थिए। पार्टी कार्यालयमा नेताहरुसँग छलफल गरेपछि उनले भीडलाई सम्बोधन गरेका थिए।
‘म भागेको छैन, लुकेको छैन। जुन ट्रायल गर्न खोजेको छ त्यो मैले बुझेको छैन,’ उनले भने।
लामिछानेले आफूलाई जेल पठाउने निर्णयको प्रतिवाद गर्ने घोषणा गरे। ‘...ध्यान बचत फिर्ता गराउनेमा छैन, यिनको ध्यान रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई सिध्याउनेमा छ। जुन हामी हुनै दिँदैनौ । कुनै हालतमा हुन दिदैनौ’, उनले भने।
साथै उनले आफूलाई सरकारको अनुकम्पा नचाहिने बताउँदै कुनै अन्याय नसहने बताए। पक्राउ गर्नेबारे सरकारले त्यस्तो तयारी गरेको छैन भने पनि भरोसा गर्न सक्ने अवस्था नरहेको लामिछानेले बताए ।
‘मलाई सरकारको अनुकम्पा चाहिँदैन, तर कुनै अन्याय गर्न पाइँदैन। कसैको राजनीति बचाइदिनका लागि मैले बलिबेदीमा चढ्नुपर्ने,’ लामिछानेले भने।
वर्षौंदेखि राजनीति गरेका दल एउटा व्यक्तिसँग डराएको उनले आरोप लगाए। सरकारले षडयन्त्रपूर्वक तरिकाले पक्राउ गर्न सक्ने भएकाले हरेक हिसाबले लड्न तयार भएको पनि उनले बताए।
सरकारविरुद्ध लडेर जित्ने पनि उनले बताए। भने, ‘म अभिमन्यू होइन, यो चक्रब्यूहबाट निस्कन आउँछ।’