रवि लामिछाने प्रहरीको उच्च निगरानीमा
रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले उच्च निगरानीमा राखेको छ।काठमाडौं, असोज ६ । रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले उच्च निगरानीमा राखेको छ।
सहकारी बचत अपचलन प्रकरणमा संसदीय छानबिन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएपछि प्रहरीले लामिछानेलाई निगरानीमा राखेको हो।
आइतबार पूर्वडिआइजी छविलाल जोशी पक्राउ परेका थिए। छवि पक्राउसँगै रवि लामिछानेलाई पनि निगरानीमा राखिएको प्रहरीको उच्च स्रोतले जनाएको छ।
सहकारी छानबिनसम्वन्धी संसदीय छानविन समितिले पूर्वगृह तथा उपप्रधानमन्त्र समेत रहेका रवि लामिछाने, पूर्वडीआईजी जोशी, जीबी राई, कुमार रम्तेललगायतलाई छानविन गरी कानुनी दायरामा ल्याउन सिफारिस गरेपछि पूर्व डिआइजी आइतबार पक्राउ परेका थिए ।
जोशी लामिछाने जोडिएको गोर्खा मिडिया नेटवर्कका संस्थापक सञ्चालक थिए ।
संसदीय समितिमा जोशीले दिएको बयानमा ग्यालेक्सी टीभीमा रवि लामिछाने शेयरहोल्डर भएपछि सर्बेसर्वा भएको, त्यहाँ ल्याइएको रकम कुन प्रयोजनका लागि कसरी आयो भन्ने विषयमा बोर्डको मिटिङ, माइन्युट र सरसल्लाह केही नभएको भन्दै पोलेका थिए ।
आइतबार जोशी भाग्ने सूचना प्रहरीले पाएपछि जरुरी पक्राउ पुर्जी थमाएर उनलाई समातेको थियो।
गोर्खा मिडियाको ग्यालेक्सी टेलिभिजनमा जोशीको ३५ प्रतिशत सेयर र लामिछानेको १५ प्रतिशस शेयर थियो।
समितिको बयानमा लामिछानेले गोर्खा मिडियामा आफूले स्वेट सेयरबापत १५ प्रतिशत इक्विटी शेयर लिएको दाबी गरेका थिए। कानुनमा स्वेट सेयरको व्यवस्था छैन।
बयानकै क्रममा छबिलाल जोशीले भने आफूले रवि लामिछानेलाई गोरखा मिडियाको १५ प्रतिशत शेयर दिएको दाबी गरेका थिए।
प्रतिवेदनले सहकारीको रकम गोरखा मिडियामा ल्याएपछि अपचलनमा रवि लामिछानेको संलग्नता किटान गरेको छ।