जलवायु परिवर्तनको असरबाट सांस्कृतिक सम्पदाहरुलाई जोगाऔं : मन्त्री पाण्डे
उनले परम्परागत ज्ञानलाई आधुनिक विज्ञानसँग एकीकृत गरेर पूर्वतयारी, न्यूनीकरण, र अनुकूलनका रणनीतिहरू विकास गर्न सकिने उल्लेख गर्दै बाढीको अबस्थाबारे आदिवासी ज्ञानलाई भू उपग्रह प्रविधिसँग जोडेर सटिक रुपमा पूर्वसूचना प्रदान गर्न सकिने बताए।काठमाडौं, असोज ६ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण बाढी डढेलो, खडेरी तथा समुन्द्र सतह बृद्धि जस्ता प्राकृतिक प्रकोप बढीरहेका बेला सांस्कृतिक सम्पदाहरुको संरक्षणमा ध्यान दिनुपर्ने बताएका छन्।
त्रिभुवन विश्वविद्यालयको संस्कृति विभाग, युनेस्को, एशिया प्रशान्त क्षेत्रको उच्च शिक्षा सञ्जाल लगायतका संस्थाले आइतबार राजधानीमा संयुक्त रुपमा आयोजना गरेको प्रकोप र जलवायु परिवर्तनको सन्दर्भमा समुदायको सहनशीलता निर्माणमा अमूर्त सांस्कृतिक सम्पदाको भूमिका विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा उक्त कुरा बताएका हुन्।
उनले परम्परागत ज्ञानलाई आधुनिक विज्ञानसँग एकीकृत गरेर पूर्वतयारी, न्यूनीकरण, र अनुकूलनका रणनीतिहरू विकास गर्न सकिने उल्लेख गर्दै बाढीको अबस्थाबारे आदिवासी ज्ञानलाई भू उपग्रह प्रविधिसँग जोडेर सटिक रुपमा पूर्वसूचना प्रदान गर्न सकिने बताए।
सम्बोधनका क्रममा मन्त्री पाण्डेले अहिलेको विश्व गम्भीर रूपान्तरणको अवस्थामा रहेको र जलवायु परिवर्तन अब कुनै टाढाको खतरा नभइ वर्तमान अवस्थाको वास्तविकता भएको उल्लेख गर्दै यसबाट समाजले बारम्बार बाढी, डढेलो, खडेरी र समुन्द्र सतह बृद्धि जस्ता प्रकोप झेल्नु परिरहेको र सम्वेदनशील क्षेत्रका समुदायहरू जोखिमको अग्रभागमा रहेको बताए।
एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुने परम्परा, भाषा, अनुष्ठान, ज्ञान प्रणाली, र कला अमूर्त सांस्कृतिक सम्पदाहरु भएको र यिनीहरु हाम्रो पहिचानको आधार भएको उनले उल्लेख गरे।
‘संसारलाई कसरी हेरिरहेकाछौं, प्रकृतिसँग कसरी अन्तरक्रिया गरिरहेकाछौं। रm संकटमा कसरी प्रतिक्रिया दिन्छौं भन्ने कुरा निर्धारण गर्नेछ। प्रकोप र जलवायु परिवर्तनको सन्दर्भमा सम्पदा हाम्रा लागि अझ बढी मूल्यवान छन्,’ उनले भने।
मन्त्री पाण्डेले संसारभरका मानिसले आफ्नो वातावरणमा अनुकूलन गर्नका लागि शताब्दीयौंदेखि जटिल ज्ञान र अभ्यासका प्रणालीहरू विकास गरेको उल्लेख गर्दै कृषि कर्मका बेला गरिने पूजापाठ वा अनुष्ठान तथा प्रकृतिको चक्रसँग तालमेल गरी बाली लगाउने परम्परा यसको उदाहरण रहेको बताए।
सांस्कृतिक सम्पदाहरुमा यस्ता प्रकोपहरुसँग कसरी अनुकुलन गर्न सकिन्छ भन्ने ज्ञानको भण्डार रहेको र यस्ता ज्ञानले संकटका समयमा जीवित रहन महत्वपूर्ण भूमिका खेल्न उनले बताए।
अफ्रिकामा परम्परागत संगीत र कथा वाचनले प्रकोपका बेला हुने आघात र क्षतिको सामना गर्नमा महत्त्वपूर्ण भूमिका खेल्नृ उल्लेख गर्दै पूर्वीय सभ्यतामा कथा भन्नु इतिहास र ज्ञानको हस्तान्तरणको एक हिस्सा भएको मन्त्री पाण्डेको भनाइ छ।