Kathmandu Press

प्रकाशको जीवनमा खेलवाड नगरौँ

हेर्ने कथा टिमले उनको जीवन कथामाथि भिडियो बनाएर प्रशारण गरेसँगै उनी एकाएक भाग्यमानी बन्न पुगेका छन्। तर उनको चम्केको यो भाग्य अभिशाप पनि बन्न सक्छ।
प्रकाशको जीवनमा खेलवाड नगरौँ

म दुई वर्षअघि निधन भएका बुबा र करिब एक दशकअघि नै परलोक हुनुभएकी आमाको नाममा केही गर्न चाहन्थेँ। मैले आमा–बुबाको नाममा के गर्ने भन्ने मनमनै विभिन्न योजना बनाएको थिएँ। मेरो पुर्ख्याैली थलो भोजपुरको साम्पाङको स्थानीय विद्यालयमा आमा–बुबाको नाममा आठ–दश लाख जतिको अक्षयकोष स्थापना गरिदिने वा अरु नै के गर्ने भन्ने विषयमा ठ्याक्कै योजना चाहिँ बनाइसकेको थिइनँ।

बेलायतमा रहेको म आमा–बुबाको स्मृतिमा के गर्ने भन्ने निर्णय लिइसकेपछि समय मिलाएर स्वदेश फर्कने तयारी गर्दै थिएँ। मनमा विभिन्न योजना बनाउँदै गर्दा युट्युब च्यानल ‘हेर्ने कथा’मा प्रकाश तामाङको कथा प्रशारण भयो। ३५ वर्षसम्म गोरखाको चुम भ्यालीमा गुमनाम जीवन बिताइरहेका प्रकाशको परिवार त मेरै गाउँ साम्पाङमा पो रहेछन्।

प्रकाशको बिरामी बुबा, बुढ्यौलीले गल्दै गएकी आमा, भाइ रिठ्ठे साम्पाङमा अरु कसैको खेतबारी कमाएर जीवन गुजारा गर्दै आएका रहेछन्। हेर्ने कथामा प्रकाशित ‘हराएका वर्षहरू’ हेरेपछि मैले अरु सबै योजना त्यागेर प्रकाशका लागि आफ्नो पुख्र्यौली थलोको जग्गा जमिन दिने निर्णय गरेँ। तत्काल मैले साम्पाङमा रहेका स्थानीय जनप्रतिनिधिलाई जानकारी दिएँ।

Hardik ivf

म बेलायत बसाइ छोट्याउँदै काठमाडौँ उत्रिएँ अनि सोझै भोजपुरतिर लागेँ। यस बिचमा प्रकाश तामाङलाई कृष्णकुमारले जग्गा दिँदैछ भन्ने जानकारी भइसकेको रहेछ। मैले प्रकाशलाई भेटेपछि आफ्नो केही जग्गा देखाएँ। तीन ठाउँमध्ये प्रकाशलाई उनले रोजेकै जग्गा दिएँ। मैले प्रकाशलाई प्रदान गरेको दुई कित्ता जग्गा डिही बारी र खेत गरी जम्मा नौ रोपनी सात आना दुई पैसा दुई दाम रहेछ।

बारीलाई छोएर गएको मोटरबाटोमै पर्ने केही गह्रा खारेर अहिले प्रकाशका लागि पूर्वमन्त्री एवम् सांसद सुदन किराँतीको पहलमा घर निर्माण हुँदैछ। म प्रकाशका लागि साँध सिमाना पर्ने थप खेत र बारी खरिदका लागि अर्थ सङ्कलन गरिदिन पनि तयार छु। प्रकाशलाई सहयोग जुटाउन पहल गरिरहनुभएका विभिन्न अभियन्तालाई पनि मेरो आग्रह छ, ‘प्रकाशलाई कसरी सेटल गराउने भन्ने योजनाका साथ काम गरिदिनुहोस्।’

मेरो बुझाइमा प्रकाश तामाङ कर्मशील युवा हुन्। उनलाई अहिलेसम्म भाग्यले साथ दिएको थिएन। तर हेर्ने कथा टिमले उनको जीवन कथामाथि भिडियो बनाएर प्रशारण गरेसँगै उनी एकाएक भाग्यमानी बन्न पुगेका छन्। तर उनको चम्केको यो भाग्य अभिशाप पनि बन्न सक्छ। त्यसैले मैले प्रकाशलाई भनेको छु, ‘मिडियाका मान्छे भनेर विभिन्नखाले मान्छे आउँछन्। आफ्नो कर्म नछाड्नू। कसैले भन्दैमा नबहकिनू। कुरा बुझेर व्यवहार गर्नू।’

मैले प्रकाशलाई यसरी सम्झाउनुको पनि कारण छ किनकि म प्रकाशका लागि जग्गा प्रदान गर्न र घरको शिलान्यास कार्यक्रममा सहभागी हुन गाउँ जाँदै थिएँ। साम्पाङमा कार्यक्रम तय भइसकेको थियो तर एकाएक मिडियामा प्रकाश काठमाडौँ आउँदैछन् भन्ने समाचार आयो। मैले तत्काल प्रकाशलाई सम्पर्क गर्न प्रयास गरेँ तर फोन कनेक्सन भएन। निकैपटक प्रयास गर्दा पनि सम्पर्क हुन नसकेपछि स्थानीय जनप्रतिनिधिहरूसँग सम्पर्क गरेँ।

विभिन्न व्यक्तिलाई फोन डायल गरेपछि बल्ल प्रकाश कहाँ छन् भन्ने पत्तो लाग्यो। केही व्यक्ति तथा अभियन्ताले प्रकाशलाई आर्थिक, प्रशासनिक सहयोग गर्ने नाममा राजनीति गर्ने प्रयास गरेको मेरो बुझाइ छ। मेरो आग्रह छ, ‘प्रकाशलाई कर्मशील युवा प्रकाश नै बन्न दिनुहोस्। राजनीतिकलगायत विभिन्नखाले खेलवाड गरेर भेलु बाजे नबाउनुहोस्।’

(लेखक राई गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति हुन्।)

प्रकाशित मिति: १३:०३ बजे, आइतबार, भदौ ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
असफल राज्य प्रणाली
असफल राज्य प्रणाली