नागरिकतासम्बन्धी निर्देशिकाको समीक्षा हुन्छ : गृहमन्त्री
‘संविधान, ऐन, नियमावलीमा समस्या छैन, निर्देशिकामा समस्या छ भन्ने कुरा आएको छ। कहाँ समस्या छ, अदालतले दिएका आदेशबमोजिम निर्देशिकालाई परिमार्जन गर्न चाँडै टोली बनाएर समीक्षा गर्नेछौं,’ उनले भने।काठमाडौं, भदौ २९ : गृहमन्त्री रमेश लेखकले संविधान, नागरिकता ऐन, नियमावली र सर्वोच्च अदालतको आदेशका आधारमा नागरिकतासम्बन्धी निर्देशिकालाई समय–सापेक्ष बनाउने बताएका छन्।
काठमाडौंमा शनिबार आयोजित ‘नागरिकलाई नागरिकता : कानुन कि व्यवहार’ विषय कार्यक्रममा उनले नागरिकतासम्बन्धी निर्देशिकालाई संविधानको व्यवस्थाअनुरूप हुने परिमार्जन गर्न समीक्षा गर्ने विश्वास दिलाए।
‘संविधान, ऐन, नियमावलीमा समस्या छैन, निर्देशिकामा समस्या छ भन्ने कुरा आएको छ। कहाँ समस्या छ, अदालतले दिएका आदेशबमोजिम निर्देशिकालाई परिमार्जन गर्न चाँडै टोली बनाएर समीक्षा गर्नेछौं,’ उनले भने।
त्यसबाट के–कति समस्या सम्बोधन हुन्छ भन्ने कुरा विश्लेषण गरी बाँकी पनि सोही प्रक्रियाका आधारमा निरूपण गर्न पहल हुने लेखकले बताए।
अदालतको आदेशबाट समेत नागरिकता प्राप्त गर्न नसक्नु पीडादायी पक्ष भएको बताउउँदै गृहमन्त्री लेखकले नागरिकता नपाएकै कारण पढ्न र रोजगारी प्राप्त गर्न नसक्ने जस्ता पीडा सम्बोधनका लागि सबै जिम्मेवार बन्नुपर्ने उल्लेख गरे।
‘अब पानीजस्ता अत्यावश्यक वस्तु किनेर खान पनि नागरिकता चाहिन्छ। त्यसैले नागरिकतासम्बन्धी विषयलाई अब छिनोफानो र निष्कर्षमा पुर्याउनुपर्छ भन्ने लागेको छ,’ उनले भने।
गृह मन्त्रालयको जिम्मेवारीमा आएपछि कानुन र नीति निर्माणलाई नै आफूले प्राथमिकतामा राखेको बताउँदै उनले २०१२ सालमामा बनेको प्रहरी ऐन देशमा धेरै शासन व्यवस्था फेरिए पनि कायमै रहेकाले अब एक महिनाभित्र उक्त ऐनलाई समयसापेक्ष तुल्याउनका लागि अन्तिम रूप दिई संसदमा लैजाने प्रयत्न भइरहेको जानकारी दिए।