माओवादीले संसदको अवरोध कायमै राख्ने
माओवादी संसदीय दलको बैठकले भट्टराई अभिव्यक्तिले माओवादी जनयुद्ध, शान्ति सम्झौता र संविधानलाई अपमान गरेको माओवादीको निष्कर्ष निकाल्दै संसदमा अवरोध जारी राख्ने निर्णय गरेको हो।काठमाडौं, भदौ २८ : प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संसदको अवरोध कायमै राख्ने भएको छ। शुक्रबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको छ।
दुई सातअघि एमाले सचिव योगेश भट्टराईको संसदमा सम्बोधनका क्रममा माओवादी युद्धलाई हिंसा भने माओवादीले संसदमा विरोध गरेको थियो। तर, बुधबार सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउनु नपर्ने भनेपनि माओवादीले संसद अवरुद्ध गरेको थियो।
माओवादी संसदीय दलको बैठकले भट्टराई अभिव्यक्तिले माओवादी जनयुद्ध, शान्ति सम्झौता र संविधानलाई अपमान गरेको माओवादीको निष्कर्ष निकाल्दै संसदमा अवरोध जारी राख्ने निर्णय गरेको हो।
बैठकले जनयुद्धलाई एमालेले अपमानित गरेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्न समेत निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले बताए।
‘माओवादी जनयुद्धलाई एमालेले अपमानित गरेको छ, त्यो शान्ति सम्झौता र संविधानविपरित छ। हिंसासँग मात्र होइन समग्र माओवादी आन्दोलन, जनमुक्ति सेनालाई बदनाम गर्ने ढंगले आएको छ,’ उनले भने, ‘आगामी दिनमा त्यसको सशक्त प्रतिवाद गर्ने गरी समाधान नभएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ।’