सुदूरपश्चिमको विकासका लागिपर्ने परराष्ट्रमन्त्री डा.राणाको बाचा
मन्त्री राणाले विगत लामो समयदेखि सुदूरपश्चिम क्षेत्रका नागरिकको स्वास्थ्य, महिला अधिकार, प्रजनन् स्वास्थ्य तथा सुरक्षित मातृत्व लगायतका क्षेत्रमा काम गर्दै आएको समेत स्मरण गरिन्।काठमाडौं, भदौ २६ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू सधैँ लागिपर्ने बताएकी छन्।
सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलसँग कुराकानी गर्ने क्रममा आफूले यस्तो प्रतिबद्धता जनाएकी हुन्। मन्त्री राणाले विगत लामो समयदेखि सुदूरपश्चिम क्षेत्रका नागरिकको स्वास्थ्य, महिला अधिकार, प्रजनन् स्वास्थ्य तथा सुरक्षित मातृत्व लगायतका क्षेत्रमा काम गर्दै आएको समेत स्मरण गरिन्।
आफू कुनै सरकारी पदमा भए पनि, नभए पनि सुदूरपश्चिम क्षेत्रको विकास गरी त्यहाँका नागरिकको जीवनस्तरमा सुधार ल्याउने गरी काम गर्ने भनाई मन्त्री राणाको थियो।
एक प्रसङगमा पछिल्लो समयमा नेपालमा आत्महत्या गर्ने व्यक्तिको संख्या बढ्दै गएको बताउँदै परराष्ट्रमन्त्री डा.राणाले आत्महत्याको दर अन्यत्रको तुलनामा सुदूरपश्चिममा धेरै रहेकाले यस्तो अवस्थाको निराकरणका लागि काम गर्न मञ्चलाई सुझाव दिइन्।
मन्त्री डा. राणाले भनिन्, ‘हरेक पालिका तथा वडास्तरमै परामर्श केन्द्र राखेर हुन्छ या कसरी हुन्छ मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्नुपर्नेछ । यो उमेर समूहका नागरिकलाई व्यापक मात्रामा परामर्श सेवा दिनुपर्नेछ । यहाँहरू त्यसमा लाग्नुहोला।’
मञ्चका अध्यक्ष बहादुरसिंह विष्टसहित पदाधिकारी तथा सदस्यले सुदूरपश्चिम जस्तो विकट क्षेत्रबाट प्रतिनिधित्व गरी मुलुकको परराष्ट्र मन्त्री जस्तो गरिमामय पदमा पुग्न सफल भएको भन्दै मन्त्री राणाको सफल कार्यकालको कामनासहित सम्मान प्रदान गरेका थिए।
सुदूरपश्चिम क्षेत्रको विकासका लागि स्थानीय परियोजना तथा नाकाका विषयमा भारत भ्रमणका क्रममा उच्च सरकारी तहसम्म कुरा उठाएकोप्रति मञ्चको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री डा.राणालाई विशेष धन्यवाद ज्ञापन गरेको छ।
भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाबाट नेपालले अधिकतम लाभ लिन सक्नेगरी कुरा उठाई प्रक्रिया समेत अघि बढाएकामा मञ्चले मन्त्री डा.राणालाई धन्यवाद समेत ज्ञापन गरेको छ।
मन्त्री डा.राणाले त्यस अवसरमा नेपालले आफ्ना छिमेकी देशतर्फका नाका एवम् सीमा सुरक्षा चौकीलाई थप व्यवस्थित बनाउने विषयमा पहल गर्ने पनि बताइन्।