संसदमा मागियो उपसभामुखको राजीनामा
बैठकको शुन्य समयमा बोल्दै सांसद सरस्वती सुब्बाले आफूमाथि उठेको प्रश्नमा छानबिनका लागि मार्ग प्रशस्त गर्न उपभामुख रानालाई आग्रह गरिन भने सहराज अहमद फारुकीले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्न उपसभामुखलाई आग्रह गरे।काठमाडौं, भदौ २५ : मंगलबारको प्रतिनिधिसभा बैठकमा उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरिएको छ। बैठकमा सत्तारूढ दलका सांसदहरूले उपसभामुखको राजीनामा मागेका हुन्।
बैठकको शुन्य समयमा बोल्दै सांसद सरस्वती सुब्बाले आफूमाथि उठेको प्रश्नमा छानबिनका लागि मार्ग प्रशस्त गर्न उपभामुख रानालाई आग्रह गरिन भने सहराज अहमद फारुकीले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्न उपसभामुखलाई आग्रह गरे।
सांसद शोभा ज्ञवालीले उपसभामुख रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रले मानव तस्करीको काम भएको आरोप पनि लगाइन्। ‘उहाँले गरेको काम मानव तस्करी होइन र? अन्य व्यक्तिका कुरा जोडसँग उठाउनुहुन्छ। आफ्ना व्यक्तिको उठाउँदा आक्रोशित हुनुहुन्छ,’ उनले भनिन्।
सांसद सूर्यप्रसाद ढकालले उपसभामुखको विषयमा सदनभित्र र बाहिर उठेको प्रश्न गम्भीर रहेको बताए।
‘सदनभित्र र बाहिर उपसभामुखको कुरा उठिरहेको छ, नैतिकताको कुरा उठेको छ। पदीय मर्यादाको कुरा उठेको छ। मानव तस्करीसाग सम्बन्धित कुरा उठेको छ,’ उनले भने, ‘उपसभामुख जस्तो व्यक्तिको बारेमा प्रश्न उठ्दा उपसभामुखले मार्ग प्रशस्त गर्न अथवा राजीनामा गर्नका निम्ति म जोडदार माग गर्दछु।’