प्रधानमन्त्री जस्तो झुटो बोल्ने मान्छे संसारमा छैनन् : सांसद शाही
उनले हुकुमी शासन भएको भन्दै त्यहाँ गरेको खर्च प्रमको व्यक्तिगत सम्पत्तिबाट असुल उपर गर्नुपर्ने बताए। उनले भ्यूटावर भए दौडिएर जाने तर विश्वविद्यालयको हुँदा नगएको समेत आरोप लगाए।
काठमाडौं, भदौ २४ : राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले देशको प्रधानमन्त्री जस्तो झुटो बोल्ने मान्छे संसारमै नभएको आरोप लगाएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले विश्वविद्यालयमा दीक्षान्तको लागि पूर्व र पश्चिमको विद्यार्थी सामेल रहेकै बेला समय छैन भनेर कार्यक्रम पर सार्नुस् भनेर झुट बोलेको आरोप लगाएका हुन्।
‘पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका ५६ जना विद्यार्थी दीक्षान्त समारोहका लागि जुम्ला गए। डा.सन्दुक रूइत जानुभयो, हामी गयौं,’ उनले भने, ‘लास्टमा म आउँदिन, दीक्षान्त समारोह पछाडि सारौं भन्नुभयो। नेपालमा कोही छैन यतिको झुटो बोल्ने मान्छे।’
उनले हुकुमी शासन भएको भन्दै त्यहाँ गरेको खर्च प्रमको व्यक्तिगत सम्पत्तिबाट असुल उपर गर्नुपर्ने बताए। उनले भ्यूटावर भए दौडिएर जाने तर विश्वविद्यालयको हुँदा नगएको समेत आरोप लगाए।
‘भ्यूटावर भए दौडिएर जानुहुन्थ्यो होला, विश्वविद्यालय भएर जानुहुन्न,’ उनले भने।
यस्तै, सांसद शाहीले कांग्रेस र एमालेको भातृ संगठनलाई सम्हाल्न समेत चुनौती दिए।उनले कांग्रेस–एमालेलाई विद्यार्थी संगठनको सट्टा गुन्डाहरूको संगठन राख्नुपर्ने बताए।












