सुमना श्रेष्ठको प्रश्न– ओली शासनमा पढ्न र परीक्षा दिन नपाइने हो?
सांसद श्रेष्ठले एमाले र कांग्रेस निकट विद्यार्थी संगठनले पढ्ने र परीक्षा दिने अधिकारबाट वन्चित गराएको बताइन्। उनले ओली शासनमा पढ्न, परीक्षा दिन र दीक्षित हुन नपाउने हो भन्दै प्रश्न समेत गरिन्।काठमाडौं, भदौ २४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विश्वविद्यालयमा पठनपाठन कम र राजनीतिक गतिविधि बढी भइरहेको बताएकी छिन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले एमाले र कांग्रेस पार्टीका सत्ता गठबन्धनका विद्यार्थी सङ्गठनका कारण विद्यार्थीले पढ्न र परीक्षा दिन नपाएको बताएकी हुन्।
‘११ दिनभयो कृषी तथा वन विज्ञान विश्वविद्यालयमा जाँच नभएको र चल्दै गरेको जाँचले गर्दाखेरी १४ सय जना विद्यार्थीहरु अड्किएका छन्। विश्व विद्यालयमा पठनपाठन ठप्प छ,’ उनले भनिन्, ‘अब चार वर्षमा सकिने ब्याचलर कति वर्ष लाग्ने हो? पठन पाठन कम र पार्टीहरुको गतिविधि बढि हुन थाल्यो। गठबन्धनका विद्यार्थी सङ्गठनको लडाईका कारण पढ्छु मात्र भन्ने विद्यार्थीहरुले जाँच पनि दिन नपाउने?’
सांसद श्रेष्ठले एमाले र कांग्रेस निकट विद्यार्थी संगठनले पढ्ने र परीक्षा दिने अधिकारबाट वन्चित गराएको बताइन्। उनले ओली शासनमा पढ्न, परीक्षा दिन र दीक्षित हुन नपाउने हो भन्दै प्रश्न समेत गरिन्।
परीक्षा नहुँदा कृषि, वन र भेटेनरीमा स्नातक तहका ११ सय विद्यार्थी रोकिन पुगेको उनले उल्लेख गरिन्। दलका भातृसंगठनको अवरोधका कारण परीक्षा रोकिनु आपत्तिजनक रहेको उनले बताइन्।
‘विश्वविद्याय पठनपाठनको क्षेत्र कम र पार्टीहरूको पार्टी प्यालेस बढी हुन थालेको छ,’ उनले भनिन्, ‘एउटा प्रधानमन्त्रीको, अर्को गृहमन्त्रीको पार्टी । पार्टीको लडाइँमा पढ्छु भन्ने विद्यार्थीले जाँच पनि दिन नपाउने।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह रोकिएको विषयमा उनले प्रधानमन्त्री एवं कुलपतिको कार्यक्षमतामाथि प्रश्न पनि गरिन्।
‘अन्तिम समयमा आएर कार्यव्यस्तता देखाउने, कार्यव्यस्तता मिलाउन नसक्ने कस्तो हो रु कुलपतिको कार्यक्षमतामाथि पटक–पटक प्रश्न उठ्न थाल्यो,’ उनले भनिन्।