लकडाउनमा त्रिभुवन विमानस्थलमा २४ अन्तर्राष्ट्रिय उडान
काठमाडाैं, चैत ३० : सरकारले कोरोना भाइरस रोगथाम तथा नियन्त्रणका लागि मुलुक लकडाउन गरेको छ। लकडाउनमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा पनि ....

काठमाडाैं, चैत ३० : सरकारले कोरोना भाइरस रोगथाम तथा नियन्त्रणका लागि मुलुक लकडाउन गरेको छ। लकडाउनमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा पनि प्रतिबन्ध लगाइएको छ। अन्तर्राष्ट्रिय उडानमा बैशाख १८ गतेसम्म प्रतिबन्ध लगाइएको छ।
तर, लकडाउनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गोसहित २४ अन्तर्राष्ट्रिय उडान भएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले चैत १० देखि २९ गतेसम्म २४ अन्तरराष्ट्रिय उडान भएको जानकारी दिए।
यीमध्ये नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको ग्वाङ्जाओमा गरेको दुई कार्गो उडान र श्री एयरलाइन्सले शनिबार सुडानमा गरेको कार्गो उडान छन्। यी उडानमध्ये सबैभन्दा बढी कतार एयरवेजको नौ, नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को चार तथा कोरियन, मलेसिया, मालिन्दो, इत्तिहाद, चेकरिपब्लिकन र टीटान एयरवेजको समान एक–एक उडान भएका छन्।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्। आन्तरिकतर्फ पनि लकडाउन शुरु भएदेखि नै सबै उडान बन्द छ। करिब १० दिन दैनिकजसो आन्तरिकमा उद्धार र कार्गो उडान भए। आन्तरिकमा १० हेलिकप्टर कम्पनीसहित १९ वायु सेवा प्रदायकले उडान गर्छन्।
विदेशीको उद्धार उडान तथा कार्गो उडानका लागि मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिनहुँजसो व्यस्त बन्यो। चैत १४ देखि २९ गतेसम्म दैनिकरुपमै अन्तरराष्ट्रिय उडान भए । योबीचमा आन्तरिकतर्फ पनि उल्लेख्य सङ्ख्यामा उडान भएका छन्।











