प्रधानमन्त्री ओलीसँग द्वन्द्वपीडित केन्द्रित आयोग गठन गर्न माग
काठमाडौं, भदौ २०ः द्वन्द्वपीडितले संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्ति गठन गर्दा पीडितकेन्द्रित बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग राखेका छन्।
द्वन्द्वपीडित संघको नेतृत्वमा विहीबार प्रधानमन्त्री निवास, बालुवाटार पुगेका पीडितले उक्त माग राखेका हुन्। पीडितले प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुुझाउँदै आयोग गठन राजनीतिक आधारमा नभई पीडितका भावनालाई निष्पक्षरुपमा प्राथमिकता दिन सक्नेलाई स्थान दिन भनेका छन्।
ज्ञापनपत्रमा २०६३ सालमा अन्तरिम राहतका लागि सरकारबाट घोषणा गरिएको प्रति पीडित सात लाख पचास हजारमध्ये एक लाख पचास हजारका दरले मात्रै रकम प्राप्त भएको बताउँदै बाँकी रकम निकासाका लागि समेत प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको छ।
टिआरसी सम्बन्धी कानुन संसद्बाट पारित भई गत भदौ १५ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भइसकेको छ।