महिला अधिकारको वास्तविक कार्यान्वयन जरुरी : राष्ट्रपति
पौडेलले विभिन्न संस्कृति तथा चाडपर्वले देशको मौलिकता कायम गर्ने हुनाले यसको संरक्षण सम्बद्र्धन र निरन्तरतामा लागिरहनुपर्ने पनि बताए।काठमाडौं, भदौ १८ : राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुनले महिलाहरूलाई दिएको हक अधिकारको वास्तविक कार्यान्वयन जरुरी भएको बताएका छन्।
मंगलबार प्रथम महिला सविता पौडेलले राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरेको हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले उक्त भनाई राखेका हुन्।
पौडेलले विभिन्न संस्कृति तथा चाडपर्वले देशको मौलिकता कायम गर्ने हुनाले यसको संरक्षण सम्बद्र्धन र निरन्तरतामा लागिरहनुपर्ने पनि बताए।
‘आज समाजमा धेरै परिवर्तन आइसकेको छ। महिलाहरूको अवस्थता अब यस्तो छैन् भन्ने मलाई लाग्दछ। नेपालको संविधान, ऐन कानुनमा महिला अधिकारको धेरै व्यवस्था भइसकेको छ। महिलाहरूका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच पनि बिस्तारै विकास हुँदैछ,’ राष्ट्रपति पौडेलले भने, ‘तर संविधान र कानुनले महिलाहरूलाई प्रदान गरेको हक अधिकारको वास्तविक कार्यान्वयन जरुरी छ।’
राष्ट्रपति पौडेलले महिलाहरूका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच विकास हुँदै गएको बताउँदै खुःशी पनि व्यक्त गरे।
शीतलनिवासमा आयोजना गरेको हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी, महिला मन्त्रीहरू, महिला सांसदहरू, विभिन्न ओहोदामा रहेका उच्च पदस्थ महिला अधिकारीहरूको उपस्थिति रहेको थियो।