‘भारत भ्रमणले आपसी सद्भाव र सम्बन्धलाई मजबुत तुल्याउन योगदान गरेको छ’
भारतका प्रधानमन्त्री मोदीसँगको भेटमा नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने तथा आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने सम्बन्धमा कुराकानी भएको उनले बताइन्।काठमाडौं, भदौ १८ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो भारत भ्रमणले दुई देशबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै सहयोग र सहकार्य प्रवद्र्धन गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताएकी छिन्।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा भारत भ्रमणको जानकारी दिँदै परराष्ट्रमन्त्री डा. राणाले भ्रमणका माध्यमबाट दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ठ सम्बन्धलाई आपसी समानता तथा लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको विश्वास व्यक्त गरिन्।
भ्रमणले आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रसमेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रवद्र्धन गर्न मार्गदर्शनसमेत गरेको उनको भनाई थियो।
बैठकमा सांसदहरूले उठाएको जिज्ञासामा परराष्ट्रमन्त्री डा. राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका लागि सकारात्मक जवाफ दिएको बताइन्। आफूले भदौ २ गतेदेखि ६ गतेसम्म भारतको औपचारिक भ्रमण गरेको र सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीसँग पनि शिष्टाचार भेटवार्ता भएको उनले जानकारी दिइन्।
‘प्रधानमन्त्री केपी ओलीका तर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई व्यक्त गर्नुभएको न्यायो अभिवादन तथा शुभकामना प्रवाह गर्नुका साथै नेपालको राजकीय भ्रमणका लागि दिनुभएको निमन्त्रणा पत्र औपचारिक रूपमा उहाँलाई हस्तान्तरण गरें,’ मन्त्री डा. राणाले भनिन्, ‘भारतीय प्रधानमन्त्रीले निमन्त्रणा सहर्ष स्वीकार गर्दै नेपाल भ्रमणका लागि सकारात्मक जवाफ दिनुभएको छ।’
भारतका प्रधानमन्त्री मोदीसँगको भेटमा नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने तथा आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने सम्बन्धमा कुराकानी भएको उनले बताइन्।
भारत भ्रमणका क्रममा नेपालका लागि थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन आवश्यक छलफल अगाडि बढाउने, बाढी तथा डुबान समस्या समाधानका लागि सम्बद्ध संयन्त्र परिचालन गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई प्राथमिकताका साथ अघि बढाउने विषयमा पनि कुराकानी भएको उनले जानकारी दिइन्।
परराष्ट्रमन्त्री राणाले हवाई रुट सम्बन्धमा किटानिका साथ राखेको र यसलाई प्राविधिक टोलीले आवश्यक छलफल गर्ने जानकारी दिइन्। १नेपाल प्रवेश गर्ने दुई हवाई रुटबारे किटानीका साथ हामीले कुरा राखेका छौँ, यसमा प्राविधिक टोलीले कुरा गर्ने भन्ने सैद्धान्तिक समझदारी भएको छ,’ उनले भनिन्।