‘पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा सामान्य हुँदैन’
गृहमन्त्री लेखकले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन, भष्ट्राचार नियन्त्रण गरेर सुशासन कायम गर्न, विकास निर्माणका गतिविधिलाई द्रुत गति दिन तथा मुलुकमा विधिको शासन स्थापना गर्न नयाँ समीकरण बनेको बताए।
कैलाली, भदौ १८ : गृहमन्त्री रमेश लेखकले देशका पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा सामान्य नहुने बताएका छन्।
प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विशिष्ट परिस्थितिमा कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताए।
‘सामान्यतया संसदीय अभ्यासमा देशको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा हुँदैन, विशिष्ट परिस्थितिमा हामीले मिलेर सरकार बनाउने गरेका छौं,’ उनले भने।
इतिहासमा कांग्रेस र एमाले मिल्दा सुखद परिणाम प्राप्त गरेको उनको भनाइ छ। ‘खास गरेर देशमा महत्वपूर्ण ‘एजेन्डा’ हुन्छन्, त्यस्ता एजेन्डालाई हामीले मिलेर सम्बोधन गरेका छौं,’ उनले भने।
स्थिर सरकारका लागि स्थिर समीकरण बनाउनु परेको उल्लेख गर्दै गृहमन्त्री लेखकले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन, भष्ट्राचार नियन्त्रण गरेर सुशासन कायम गर्न, विकास निर्माणका गतिविधिलाई द्रुत गति दिन तथा मुलुकमा विधिको शासन स्थापना गर्न नयाँ समीकरण बनेको बताए।
‘हामीले मिलेर संविधान बनायौं, कांग्रेसले निरंकुश पञ्चायती व्यवस्थासँग लड्नका लागि कम्युनिष्टसँग मिलेर बहुदलीय प्रजातन्त्रको स्थापना गर्यौं,’ उनले भने, ‘दशवर्षे माओवादी सशस्त्र संघर्षलाई मिलेर नै शान्तिमा रुपान्तरण गर्यौं।












