मलेसियाकाे प्रस्तावित राजदूत डा. तिमिल्सिनाले भने– मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि आफूले पहल गछु
मलेसियाबाट प्रधानमन्त्री स्तरको भ्रमण गर्न सकिए त्यहाँ कार्यरत नेपाली मजदुरलाई फाइदा हुने बताउँदै उनले मलेसियाबाट उच्च स्तरको भ्रमण आफ्नो प्राथमिकतामा रहेको बताए।
काठमाडौं, भदौ १७ : मलेसियाका लागि प्रस्तावित राजदूत डा. नेत्रप्रसाद तिमिल्सिनाले सोमबार संदसीय सुनवाईका क्रममा मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि आफूले पहल गर्ने बताएका छन्।
संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा उनले मलेसियाबाट गृहमन्त्री नेपाल आउन लागेको भन्ने जानकारी आइरहेको बताउँदै प्रधानमन्त्रीको तहमै भ्रमणको पहल गर्ने प्रतिबद्धता जनाए।
मलेसियाबाट प्रधानमन्त्री स्तरको भ्रमण गर्न सकिए त्यहाँ कार्यरत नेपाली मजदुरलाई फाइदा हुने बताउँदै उनले मलेसियाबाट उच्च स्तरको भ्रमण आफ्नो प्राथमिकतामा रहेको बताए।
‘मलेसियाबाट उच्च तहको भ्रमण हुन सके, गृहमन्त्री तहको भ्रमणमा उनीहरूको चासो रहेको सुनेको छु। तर, प्रधानमन्त्रीको तहमा भ्रमण गर्न सक्यौं भने, जीटुजीमा मलेसिया श्रम सम्झौताको नमूनाको रुपमा मानिँदो रहेछ,’ डा. तिमिल्सिनाले भने।
मलेसियासँग कस्तो नीति बनाउने भन्ने कुरालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने बताउँदै उनले राष्ट्रका लागि, देशका लागि इमान्दारितापूर्वक काम गर्ने बताए।
उनले मलेसियामा बिचौलियाहरू भएका कारण आफूलाई टिकेर काम गर्न कठिन हुने भन्दै श्रम नीति अन्तर्गत राज्यले सहयोग गर्न सकेमा सहज हुने बताए।
‘मलेसिया र नेपालमा म्यानपावर बीचमा काम गर्ने बिचौलियाहरू हुन्छन्। बिचौलियाले सिन्डिकेट गरेर श्रमिकलाई सोझै कम्पनीसँग सम्पर्क दिंदैनन्। मलेसियामा जताततै विचौलिया हुन्छन भन्ने सुनेको छु। जताततै ठग्ने काम गर्छन् रे, राजदुतहरुले पुलिस लगाएर लखेट्नुपर्छ रे। म एकदमै अफ्ठ्यारो ठाउँमा जाँदैछु,’ उनले भने।












