श्रेष्ठको नेतृत्वमा एमाले ४ मन्त्रालयसहित सरकारमा सहभागी
काठमाडौं, भदौ १७ : गण्डकी प्रदेशमा पद्मा जीसी श्रेष्ठको नेतृत्वमा एमाले ४ मन्त्रालयसहित सरकारमा सहभागी भएको छ । श्रेष्ठ नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य हुन्।
एमालेको नेतृत्व गर्दै सरकारमा पुगेकी श्रेष्ठले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी समालेकी छन् । सरकारमा श्रेष्ठसहित बागलुङका कृष्ण पाठक, पर्वतका मित्रलाल बस्याल र कास्कीका प्रकाशबहादुर केसी मन्त्री बनेका छन् ।
गण्डकीमा ९ मन्त्रालयको टुंगो लागेसँगै मुख्यमन्त्री पाण्डेले एमालेका ४ मन्त्री नियुक्तसँगै मन्त्रालयसमेत हेरफेर गरेका छन् । सामाजिक विकास मन्त्रालयबाट फुटाइएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाठकलाई दिइएको छ । केसीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बनाइएको छ ।
यसअघि भौतिक पूर्वाधार मन्त्री रहेकाच राजीव गुरुङ (दीपक मनाङे) लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । बस्याल उद्योग, पर्यटन मन्त्री बनेका छन् ।