नारायणगढ–बुटवल सडकको काम एक वर्षमा सक्नेगरी सरकार लागेको छ : मन्त्री दाहाल
‘सडक निर्माणको काम सुरु भएको लामो समय भइकेको छ तर प्रगति हेर्दा ५४/५५ प्रतिशत मात्र काम भएको पाइएको छ। हामीले एक वर्षको म्याद थपेका छौँ, अब सोही अवधिमा जसरी पनि काम सक्नुपर्छ,’ उनले भने।
चितवन, भदौ १७ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणगढ–बुटवल सडकको काम चाँडो सक्नेगरी सरकार अघि बढेको बताएका छन्।
प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एक वर्षभित्र काम सम्पन्न गर्नेगरी सरकार अघि बढेको बताए। मन्त्री दाहालले एक वर्षभित्र काम सक्ने गरी निर्माण कम्पनीसँग सहमति भएकाले सोहीअनुसार काम हुने विश्वास व्यक्त गरे।
‘सडक निर्माणको काम सुरु भएको लामो समय भइकेको छ तर प्रगति हेर्दा ५४/५५ प्रतिशत मात्र काम भएको पाइएको छ। हामीले एक वर्षको म्याद थपेका छौँ, अब सोही अवधिमा जसरी पनि काम सक्नुपर्छ,’ उनले भने।
मुख्य राजमार्गका रूपमा रहेको यो सडक निर्माणका लागि नेपाल सरकारका तर्फबाट कुनै समस्या नभएको उनले बताए। ‘सरकारका तर्फबाट उहाँहरूलाई दिनुपर्ने भुक्तानी रोकिएको छैन, दिइरहेको अवस्था छ,’ उनले भने, ‘काम चाँडो सक्नका लागि ठेकेदार कम्पनीसँग बारम्बार छलफल भइरहेकाले अब प्रगति हुन्छ।’
मन्त्री दाहाल बर्सात सकिएपछि कामको गति हेरिने र कामको गति बढाउन नसके सरकारले ठेकेदारको विकल्प खोज्ने प्रष्ट पारे। ‘बर्सात सकिने बित्तिकै उहाँहरूले तीव्रगतिमा काम अघि बढाउन नसकेमा हामीले ठेक्का तोडेर जानुपर्ने हुन्छ, अर्को विकल्प दिनुपर्ने हुनसक्नछ। यस्तो गर्न नपरोस् भन्ने हाम्रो चाहना छ,’ उनले भने।
सरकारले क्युआर कोडसहितको लाइसेन्स जारी गर्ने तयारी गरिरहेको जानकारी दिए। लाइसेन्स वितरणको जिम्मेवारी प्रदेश सरकारको रहेको भन्दै उनले हाल २० लाख लाइसेन्स बन्ने प्रक्रियामा रहेका र पाँच लाख लाइसेन्स बनिसकेको बताए।












