Kathmandu Press

वीर अस्पतालमा पनि सुरू भयो कोरोना परीक्षण 

काठमाडाैं, चैत २९ :  सरकारले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन नमूना सङ्कलन र परीक्षणको दायरालाई फराकिलो पारेको छ। रोगको जोखिम बढ्न सक्न....

वीर अस्पतालमा पनि सुरू भयो कोरोना परीक्षण 

काठमाडाैं, चैत २९ :  सरकारले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन नमूना सङ्कलन र परीक्षणको दायरालाई फराकिलो पारेको छ। रोगको जोखिम बढ्न सक्नेतर्फ ध्यान दिँदै दक्षिणी नाका आवागमनमा कडाई गरेको सरकारले परीक्षणको गति पनि उसैगरी बढाउँदै लगेको हो।

र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी)मार्फत पनि मुलुकका धैरजसो जिल्लामा परीक्षण थालिएको स्वास्थ्य मन्त्रायले जनाएको छ। शुरुमा काठमाडौँमा मात्रै सीमित रहेको परीक्षणलाई देशव्यापी बनाउने उद्देश्यअनुसार यन्त्र उपकरण थपेर आवश्यक काम भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। 

यसअघि जनस्वास्थ्य प्रयोगशालामा हुँदै आएको कोभिड–१९ सङ्क्रमणको परीक्षण आजदेखि वीर अस्पतालमा पनि शुरु भएको छ। आइतबारदेखि टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्तपालमा समेत थालिने डा देवकोटाले बताए। नागरिकले धेरैभन्दा धेरै परीक्षण गरेर रोग नियन्त्रणमा लाग्न सरकरालाई अनुरोध गर्दै आएका छन्। नागरिकको चासोप्रति गम्भीर हुँदै सरकारले रोग नियन्त्रणका प्रभावकारी उपाए अपनाउँदै आएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त विवरणअनुसार हालसम्म चार हजार ४२६ जनाको नमूना परीक्षण भइसकेको छ। पछिल्लो २४ घण्टामा मात्रै ८९७ जनाको नमूना परीक्षण गरिएको छ। यो गएको हप्ताको परीक्षणभन्दा निक्कै धेरै हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म तीन हजार ३९२ को परीक्षण भएकामा पछिल्लो २४ घण्टामा मात्रै ६०९ जनाको परीक्षण भएको छ । उपत्यका बाहिर ७४२ वटा परीक्षण भएको छ। त्यसमध्ये  पछिल्लो २४ घण्टामा २८८ वटा नमूनाको परीक्षण भएको डा देवकोटाले बताए। नमूना परीक्षण प्रतिदिन झण्डै ८०० भएको छ। नमूना सङ्कलनसमेत बढेकाले परीक्षणको दायरा पनि बढाइएको हो ।

“तीन दिनदेखि ¥यापिड डाइग्नोष्टिक किट (आरडिटी) मार्फत पनि परीक्षण शुरु गरेका छौँ, यो समुदायमा सङ्क्रमण छ छैन भनेर हेर्नका लागि हो, रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति छ छैन भनेर उक्त किटले हेर्न सक्छ, धेरै जिल्लामा पुगिसकेको छ, केहीमा शुरु हुँदैछ”, डा देवकाटाले भने। सुदूरपश्चिमका सबै जिल्लामा परीक्षण थालिएकोसमेत उनले बताए।

वीरमा परीक्षण शुरु, आइतबारदेखि टेकु अस्पतालमा 

काठमाडौँमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको परीक्षण हुँदै आएकामा आजदेखि वीर अस्पतालबाट समेत परीक्षण थालिएको छ। 

आइतबारदेखि टेकु अस्पतालबाट समेत नमूना परीक्षण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। वीरमा शुरु भएसँगै आजदेखि उपत्यकामा दुई ठाउँबाट परीक्षण थालिएको छ। दार्चुलामा पनि स्वाबको नमूना परीक्षण भइरहेको छ। क्वारेन्टाइनमा बसेका व्यक्ति सबैको र्‍यापिड डाइग्नोष्टिक किटबाट नमूना परीक्षण गर्न थालिएको र अब केही दिनमा सबै क्षेत्रको परीक्षण सक्ने योजना मन्त्रालयको छ। 

टेष्ट बढाउनका लागि भनेर धेरै प्रश्न आएको उल्लेख गर्दै डा देवकोटाले काठमाडौं उपत्यका बाहिर धेरै ठाउँमा शुरुआत भइसकेको र केही ठाउँमा यन्त्र जडान कार्य जारी रहेकाले छिट्टै शुरु हुने आश्वासन दिए। ७७ जिल्लाबाट परीक्षण गराउने प्रक्रियामा सरकार रहेको छ। पिसिआरबाट हुने नमूना परीक्षणको दायरासमेत बढिरहेको डा देवकोटाले बताए।  
 

प्रकाशित मिति: १९:३३ बजे, शनिबार, चैत २९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्