भारतीय मजदूर भन्छन्- क्वारेन्टाइनमा बस्दा समस्या छैन
भीमदत्तनगर, चैत २९ : डडेल्धुरा अस्पतालको निर्माणाधीन भवनमा काम गर्दै आएका भारत उत्तरप्रदेश रामपुरका परितोस विश्वास घर (भारत) फर्किन यही चैत....

भीमदत्तनगर, चैत २९ : डडेल्धुरा अस्पतालको निर्माणाधीन भवनमा काम गर्दै आएका भारत उत्तरप्रदेश रामपुरका परितोस विश्वास घर (भारत) फर्किन यही चैत १९ गते कञ्चनपुरको भीमदत्तनगर आइपुगे।
डडेल्धुराबाट भीमदत्तनगर आइपुगेका उनीसहित २६ जनाको मजदूरको टोली कोभिड–१९को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी भएपछि यही रोकियो। स्थानीय प्रशासनको निर्णयमा भीमदत्तनगरपालिकाले खानपिनको व्यवस्था गर्ने गरी ती मजदूर सहित २९ जनालाई यहाँको बैजनाथ इन्जिनीयरिङ कलेजमा राखिएको छ।
“राति यहाँ पुग्दा मनमा धेरै कुरा खेलिरहेको थियो,” सशस्त्र प्रहरीको सुरक्षा घेरामा बसिरहेका भारतीय नागरिक विश्वासले भने, “यहाँ सबै सुविधा दिएर राखिएकामा हामी हर्षित छौँ ।”
उनले बिहान, बेलुकी सधैँ समयमै खाना मिल्ने गरेको जानकारी दिए। “हामीलाई बसोबास र खानपिनको कुनै समस्या छैन, ” उनले भने, “भारतमा लकडाउन खुलेपछि यहाँबाट जान पाए हुन्थ्यो भन्ने छ।” विश्वासले आफू भारतमा रहेका परिवारसित नियमित सम्पर्क भइरहेको जानकारी दिए। “डडेल्धुरामा पनि बस्नलाई केही समस्या थिएन,” उनले भने, “साग तरकारीका लागि हिँडेर गाउँ पस्ने अवस्था नदेखिएपछि घर जान हिँडेका थियौँ।”
त्यसैगरी बुटवलबाट घर जान हिँडेका भारतीय मजदूर जस्मन्तकुमार पनि यही क्याम्पमा १० दिनदेखि आश्रय लिइरहेका छन्। “हाम्रो स्वास्थ्य परीक्षण पनि नेगेटिभ आएको सुनिएको छ,” उनले भने, “यहाँ बसेका भारतीयमा कुनै खालको रोग, बिरामी छैन।” बुटवलमा यातायात चलिरहेका बेला आफू घर जान निस्केको बताए। “सबै हिसाबले त सङ्क्रमण नहट्दा यही बस्न पाए हुन्थ्यो भन्ने हो,” उनले भने,“यत्तिको सुविधामा बस्दा पनि घरका अभिभावकले बोलाएर हैरान बनाएका छन्।”
त्यसैगरी भारतको रामपुरकै सुकेन रायले आफूले यहाँको आरामदायी बसाइँले घरको तिर्सना मेटेको बताए। “यहाँको खानपिन र बसोबासका साथै वरिपरिको वातारणले आफ्नै घर जस्तो लागिरहेको छ,' उनले भने,“अहिले आफ्नै देशमा छु जस्तो लाग्दैछ ।” उनले भारतीय नागरिक भनेर यहाँ कसैबाट कुनै प्रकारको विभेद र भेदभाव नरहेको बताए।
“सशस्त्र प्रहरीहरु साँझ बिहान हामीलाई समस्या छकी भनेर सोधपुछ गर्छन्,” उनले भने, “हामी स्वास्थ्यका हिसाबले पनि ठीक भइसकेको अवस्थामा हामीलाई भारत सरकारले पनि घर जाने वातारण मिलाइनिुपर्छ।” सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले बैजनाथ स्कुलमा २९ जना भारतीयलाई बसोबास र खानपिनको व्यवस्थापन तथा सुरक्षामा समेत ध्यान दिइएको जानकारी दिए।
“हामीले यस्तो महामारीको त्रासका बेला भारतीय नागरिकलाई कुनै खाले अभाव हुन दिएका छैनौँ,” उनले भने, “हाम्रा नागरिकलाई पनि भारतीय पक्षले सीमावर्ती बजारमा क्वारेन्टाइनमा राखेको छ।” उनले भारतीय नागरिकलाई विभिन्न स्थानबाट लकडाउनमा हिँडिरहेका बेला उद्धार गरेर स्कुलमा राखिएको जानकारी दिए।
कैलाली र कञ्चनपुरमा गरी ७५ जना भारतीय नागरिक स्थानीय प्रशासनको निगरानीमा राखिएको छ। त्यसैगरी यहाँका इँटाभट्टा, सडक, विभिन्न स्थानमा काम गर्ने भारतीय मजदूर होम क्वारेन्टाइनमै बसेका छन्। कञ्चनपुरमा रहेको सशस्त्र प्रहरी बल ३५ नम्बर गणले कञ्चनपुरमा सिमानामा करिब ८० स्थानमा चेकपोष्ट खडा गरेको छ।
भारतबाट लुकीछिपीसमेत आवागमन गर्न नपाउन् भनेर स्थायी बिओपी, अस्थायी पोष्टबाट आवश्यक सामग्री पुर्याउने सीमामा चेकपोष्ट खडा गरिएको सशस्त्र गणपति साहुले जानकारी दिए।
“सरकारले एक स्थानीय तहबाट अर्कोमा जान नमिल्ने र जिल्ला बाहिरसमेत आवागमनमा रोक लगाएपछि हामीले कञ्चनपुर र कैलालीको सीमा गजरौलामा पनि अस्थायी पोष्ट राखेर कडाइका साथ लकडाउन पालना गराइरहेका छौँ,” साहुले भने,“भारतमा रहेका नेपालीका विषयमा पनि भारतीय सीमा सुरक्षा बलसित आवश्यक समन्वय भइरहेको छ।” रासस










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
