न्याय परिषदमा नेपाल बारको धर्ना
न्याय परिषद्ले गैरसंवैधानिक रूपमा न्याय परिषद् नियमावली संशोधन गरेर विगत एक वर्षदेखि सोही नियमावलीमार्फत न्यायाधीश नियुक्त गरेपछि बारेले विरोध गरेको हो।-1725179975.jpeg)
काठमाडौं, भदौ १४ : नेपाल बार एसोसिएसनले न्याय परिषदमा धर्ना सुरु गरेको छ।
आइतबार यसअघि गरिएको नियमावली संशोधन सच्याइनुपर्ने माग राख्दै बारले रामशाहपथस्थित न्यायपरिषद्मा धर्ना सुरु गरेको हो। झरीकाबीच वकिलहरू छाता ओढेर न्याय परिषद्मा धर्ना दिइरहेका छन्।
न्याय परिषद्ले गैरसंवैधानिक रूपमा न्याय परिषद् नियमावली संशोधन गरेर विगत एक वर्षदेखि सोही नियमावलीमार्फत न्यायाधीश नियुक्त गरेपछि बारेले विरोध गरेको हो।
बारेले न्याय परिषद् नियमावलीमा भएको गैर संवैधानिक र गैर न्यायिक संशोधन तत्काल खारेज गर्ने, गैर संवैधानिक संशोधित नियमावली बमोजिम न्यायाधीश नियुक्ति नगर्ने र न्यायालयमा व्याप्त भ्रष्टाचार, विकृति, विसंगति अन्त्य गरी न्यायिक स्वच्छता कायम गर्ने लगायतका माग राखेका छन्।
बार अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्ले नियमावली संशोधन गरी न्यायाधीशहरूलाई दुईवटा वर्गमा विभाजन गरेको बताएका छन्। उनले मर्यादाक्रमलाई फरक पर्नेगरी कुनै कानून बनाइने छैन भन्ने संविधानको धारा १४१ को उपधारा (३)को व्यवस्थाको बर्खिलाप न्यायपरिषद्ले नियमावली जारी गरेको बताए।
यो विषयमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि न्याय परिषद्ले नसुनेपछि आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको अध्यक्ष घिमिरेले बताए।