सरकारले सत्ता स्वार्थको लागि कसैमाथि अन्याय गर्दैन : प्रधानमन्त्री ओली
‘प्रचण्डजीले श्रीलंका र बंगलादेशबाट सिक भनेर उपदेश दिनुभएछ। मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने?, लुटपाट गरेको छु र? जसले चर्को स्वरमा सिक–सिक भनिरहेको छ राम्रो तरिकाले आफैं सिक्नलाई आग्रह गर्दछु,’ ओलीले भने।
काठमाडौं, भदौ १५ : प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारले सत्ता स्वार्थको लागि कसैमाथि अन्याय नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शनिबार क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ पुस्तक लोकार्पण समारोहमा उनले समाजलाई थिति र विधिबाट चलाउनुपर्ने भन्दै कसैमाथि अन्यायपूर्ण तरिकाले अत्याचार नगर्ने बताए।
‘अन्याय कसैमाथि हुनुहुँदैन, तर समाजलाई थिति र विधिबाट चलाउनु पर्छ। कानूनको राज हुनुपर्छ,’ उनले भने, ‘म के स्पष्ट पार्न चहन्छु भने अहिलेको सरकारले कुनै कसैमाथि अन्यायपूर्ण तरिकाले आफ्नो हित, सत्ता स्वार्थलाई केन्द्रमा राखेर अन्याय अत्याचार गर्दैन। यसमा प्रतिबद्धता सरकारको प्रमुखको रुपमा म चाहन्छु।’
प्रधानमन्त्री ओलीले पुष्पकमल दाहालले श्रीलंका र बंगलादेशबाट केही कुराहरु सिक्नुपर्ने उपदेश दिएको भन्दै आफूले केही गलत काम नगरेको बताए।
‘प्रचण्डजीले श्रीलंका र बंगलादेशबाट सिक भनेर उपदेश दिनुभएछ। मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने?, लुटपाट गरेको छु र? जसले चर्को स्वरमा सिक–सिक भनिरहेको छ राम्रो तरिकाले आफैं सिक्नलाई आग्रह गर्दछु,’ ओलीले भने।
नेपाल कुनै देशको फोटोकपी गर्ने देश नभएको बताउँदै उनले यहाँ आफ्नै इतिहास र परम्परा छ भएको बताए। प्रधानमन्त्री ओलीले झुठ अहिलेसम्म नबोलेको बताउँदै अब पनि नबोल्ने उल्लेख गरे।
‘जानी जानी कसैको अधिकार हनन् गरेको छैन, गर्दिन्। जानी जानी कसैको अहित गरेको छैन् गर्दिन र नराम्रो काम गरेको छैन् गर्दिन् तसर्थ म ढुक्क छु,’ ओलीले भने।
राजनीति र राज्य व्यवस्थालाई घृणा गर्नु भनेको सामाजिक अराजकता मात्र भएको उल्लेख गर्दै उनले यसले समाजलाई कुनै राम्रो परिणाम नदिने बताए।
‘राजनीति र राज्य व्यवस्थालाई घृणा गर्ने, विधिको शासनलाई घृणा गर्ने भनेको सामाजिक अराजकता मात्र हो। यसले समाजलाई कुनै राम्रो परिणाममा पु¥याउँदैन,’ उनले भने, ‘घृणाको राजनीति, अराजकता अथवा संस्कारहीन तरिका जस्ता कुराहरुले समाजलाई वेतिथितर्फ लान्छ। समाजलाई अराजकता र असभ्यताले छिन्नभिन्न मात्रै गर्छ।’
ओलीले सबै जाति, भाषाका जनतालाई एउटा सूत्रमा बाध्ने भनेको राजनीति नै भएको स्पष्ट पारे।












