‘एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम थालेका छौं’

काभ्रे, भदौ १४ : प्रधानमन्त्री केपी ओलीले एसइई परीक्षामा कम्तीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइन कक्षा सञ्चालन गर्न लागिएको बताएका छन्।
धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको २९औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले अंग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिए।
‘५० प्रतिशतको हाराहारीमा मात्रै एसइईमा उत्तीर्ण हुने अवस्था विद्यार्थीमाथिको अन्याय हो। यस्तो अवस्थालाई अन्त्य गर्न मैले शिक्षा मन्त्रालय, नेपाल टेलिकमलगायत निकायलाई आवश्यक प्रबन्धका लागि निर्देशन दिइसकेको छु,’ उनले भने, ‘धेरैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराउने गरी हामीले काम थालिसकेका छौं।’
अहिलेको सरकार किन बनेको रहेछ भन्ने कुरा परिणाममा देखाउने गरी काम गर्ने समेत उनले बताए। सरकार देशको समृद्धि र समग्र शिक्षाको सुदृढीकरणका लागि आगामी दिनमा थप स्पष्ट र दृढताकासाथ अघि बढ्ने पनि ओलीले स्पष्ट पारे।
आफूले झापाबाट गत वर्ष अनलाइन कक्षा दिएका कारण विद्यार्थीको नतिजामा सुधार आएको उल्लेख गर्दै यस अभ्यासलाई देशभर विस्तार गर्ने बताए।
प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा विभिन्न संकायमा दीक्षित विद्यार्थीलाई आफूले प्राप्त गरेको ज्ञान–सीपलाई सही सदुपयोग गर्न तथा समाजका लागि सुयोग्य नागरिक बन्न आग्रह गरे।
‘अब तपाईंहरु संसारका जुनसुकै कुुनामा गएर पनि क्षमता प्रदर्शन गर्न सक्नुहुन्छ, तपाईंहरूका लागि संसार खुल्ला छ,’ उनले भने, ‘अभिभावकको लगानी र स्नेहको प्रतिफलका रुपमा यो सफलता प्राप्त गर्नुभएको छ, त्यसलाई सही सदुपयोग गर्नुस्, सेवाभावको सुयोग्य नागरिक बन्नुस्।’
प्रधानमन्त्री ओलीले स्नातकोत्तर तहमा स्कुल अफ आर्टस्मा चार सिजिपिए ल्याउने मिजला चित्रकारलाई चान्सलर स्वर्णपदक, स्कुल अफ साइन्सबाट स्नातक तहमा चार सिजिपिए ल्याउने मुकेश तिवारीलाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरे।












