सुशासनको क्षेत्रमा नयाँ रेकर्ड नै स्थापित गर्यौं : अध्यक्ष दाहाल
‘पछिल्लो समय नक्कली भूटानी शरणार्थी प्रकरणका फरार अभियुक्त पक्राउ परेपछि कांग्रेस र एमालेको एकथरि नेतृत्वमा छटपटी नै पैदा भयो। त्यसकै परिणामस्वरुप रातारात सहमति गरेर सरकार बनाइएको घामजत्तिकै छर्लङ छ।’
सुर्खेत, भदौ १४ : नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले आफ्नो नेतृत्वको सरकारले सुशासनको क्षेत्रमा नयाँ रेकर्ड नै स्थापित गरेको बताएका छन्।
माओवादीको कर्णाली प्रदेशस्तरीय परामर्श बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध थालेको कदम अहिलेसम्मकै पहिलो रेकर्ड भएको बताए।
‘सुशासन, सामाजिक न्याय र आर्थिक विकासको मूल संकल्पसहित मेरो नेतृत्वको सरकार १९ महिनासम्म चल्याे,’ उनले भने ‘तीनवटै क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भए। मुख्यगरी सुशासनको क्षेत्रमा नयाँ रेकर्ड नै स्थापित भएको छ।’
उनले सबै खालका भ्रष्टाचारको फाइल खोल्दै ललिता निवास, बाँसबारीसहित देशका विभिन्न स्थानमा भूमाफियाहरुले व्यक्तिका नाममा बनाएको सरकारी जग्गा पुनः सरकारकै नाममा ल्याउनु चानचुने विषय नभएको बताए।
माओवादी संख्याले सानो हुँदाहुँदै पनि भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा यति ठूलो अभियान चलाएको देखेर बिरोधीहरुमा छटपटी पैदा भएको अध्यक्ष दाहालले बताए।
‘हाम्रो कामबाट जनता उत्साहित हुँदै थिए, तर दलाल पूँजीपति, माफिया र सामन्तवादका अवेशषहरुमा आतंक सिर्जना भयो,’ उनले भने, ‘पछिल्लो समय नक्कली भूटानी शरणार्थी प्रकरणका फरार अभियुक्त पक्राउ परेपछि कांग्रेस र एमालेको एकथरि नेतृत्वमा छटपटी नै पैदा भयो। त्यसकै परिणामस्वरुप रातारात सहमति गरेर सरकार बनाइएको घामजत्तिकै छर्लङ छ।’
अध्यक्ष दाहालले कांग्रेस–एमालेले सरकारको नेतृत्व लिँदैगर्दा हारेर गएजस्तो र माओवादी सरकारबाट निस्कँदा जितेर निस्केजस्तो माहोल बनेको बताए। अहिले उनीहरुले माओवादीलाई कमजोर बनाउन बलिदानीपूर्ण संघर्षमार्फत स्थापित गरेका एजेण्डासहितको संविधानमाथि प्रहार थालेको र अघि बढाएको भ्रष्टाचारविरुद्धको अभियानलाई निस्तेज पार्न खोजेको बताए।
‘वर्तमान गठबन्धन सरकाका यी सबै षड्यन्त्रका विरुद्ध जनतालाई सचेत बनाउँदै अघि बढ्नुपर्नेछ। त्यसका लागि बलियो र एकताबद्ध पार्टीको आवश्यकता छ,’ उनले नेता कार्यकर्तालाई निर्देशन दिए।












