Kathmandu Press

सर्लाहीको अत्रौलीवासीले पाए १५ वर्षपछि खानेपानी

चुरेको काखमा रहेको साविक अत्रौली गाविसका आधा दर्जन गाउँका स्थानीय पानीको चरम अभावमा खोलाको पानी पिउन बाध्य रहेको स्थानीय नवराज मैनालीले बताए।
सर्लाहीको अत्रौलीवासीले पाए १५ वर्षपछि खानेपानी

सर्लाही, भदौ १४ : सर्लाहीको चुरेक्षेत्रमा पर्ने अत्रौलीका स्थानीयले १५ बर्षको प्रतीक्षापछि खानेपानीको सुविधा पाएका छन्।

निर्माण आरम्भ भएको डेढ दशक पछि हरिवन नगरपालिका–२ अत्रौलीका झण्डै पौने तीन सय घरधुरीले खानेपानी सुविधा पाएका हुन्। 

चुरेको काखमा रहेको साविक अत्रौली गाविसका आधा दर्जन गाउँका स्थानीय पानीको चरम अभावमा खोलाको पानी पिउन बाध्य रहेको स्थानीय नवराज मैनालीले बताए।

Hardik ivf

‘पानीको कुनै विकल्प थिएन, १५ वर्षदेखि पानी खान पाइन्छ कि भन्ने आशामा थियौं घरघरमै धाराबाट पानी आउन थालेपछि भने सुविधा भएको छ,’ उनले भने। 

हिउँदमा खोला समेत सुक्दा पानीको चरम अभाव हुने र वर्षामा खहरे खेलाको धमिलो पानी पिउन बाध्य रहेको अर्का स्थानीय पशुपति शर्मा बताउछन्। तर अहिले भेन घरघरमै खानेपानीको धाराबाट पानी झरेपछि स्थानीय हर्षित भएको उनले बताए।

संघीय सरकारको लगानीमा २०६६ साल देखि खानेपानी आयोजना सुरु भएको थियो तर पर्याप्त बजेट नपाउँदा अलपत्र पर्दै आएको आयोजना १५ वर्षपछि सम्पन्न भएको हरिवन नगरपालिका–२का वडाध्यक्ष अर्जुनकुमार योञ्जनले बताए।

जनप्रतिनिधिको पहलमा नयाँ बोरिङ र पाइप लाइन विस्तार भएपछि करिब तीन सय घरधुरीले तत्काल पानी उपभोग गर्न सुरु गरेको वडाध्यक्ष योञ्जनले बताए। 

वडाध्यक्ष योञ्जनका अनुसार आर्थिक वर्ष २०७९/८० मा डिभिजन खानेपानी कार्यालय मलङ्गवाबाट नयाँ बोरिङका लागि बजेट प्राप्त भएको थियो। आर्थिक वर्ष २०८०/८१ मा वडाको रु २० लाख र नगर उपप्रमुख हरिमाया घलानको योजनाबाट रु १० लाख बजेट विनियोजन गरी पाइपलाइन विस्तार गरिएको हो। 

आयोजनाबाट हरिवन नगरपालिका–२ का मिलनचोक, नयाँबस्ती, जिम्दार टोल, चिसापानी, थाङसिङ्गे टोल र तिनतले गाउँका स्थानिय लाभान्वित भएका छन्।
 

प्रकाशित मिति: १४:३२ बजे, शुक्रबार, भदौ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्