भ्रष्टाचार कसुरमा ५ वर्षे हदम्याद हटाउन सरकार तयार छ : गृहमन्त्री लेखक
शुक्रबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलका क्रममा ५ वर्षे हदम्याद नराखी पुरानै व्यवस्था राख्न आग्रह गरेका छन्।-1724946808.jpg)
काठमाडौं, भदौ १४ : भ्रष्टाचारको कसुरमा उजुरी अनुसन्धान गर्न ५ वर्षे हदम्याद हटाउन सरकार तयार रहेको गृहमन्त्री रमेश लेखकले बताएका छन्।
शुक्रबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलका क्रममा ५ वर्षे हदम्याद नराखी पुरानै व्यवस्था राख्न आग्रह गरेका छन्।
गृहमन्त्री लेखकले भ्रष्टाचारीलाई कुन विधि अनुसार कारबाही वा सजाय गर्ने हो त्यसबारे आवश्यकता अनुसार टुंगोे लगाउन समितिलाई आग्रह गरेका हुन।
गृहमन्त्री लेखकले भने–‘भ्रष्टाचार ५ वर्षे हदम्याद हटाइदिउँ, पहिलेकै व्यवस्था राखौं, भ्रष्टाचारका मुद्दामा जहिलेसुकै मुद्दा चलाउन सकिन्छ, सरकार यो प्रावधान हटाउन तयार छ, जहिलेसुकै मुद्दा चलाउने सुनिश्चितता गरौं ५ वर्षे हदम्यादको विषय हटाउन समस्या भएन।’
मन्त्री लेखकले सरकार हदम्याद हटाउन तयार रहेको बताएपछि समितिका सांसदहरूले स्वागत गरेका छन्।
यसअघि विधेयकमा भ्रष्टाचारका मुद्दा चलाउन ५ वर्षे हदम्याद राखेपछि चौतर्फी विरोध भएको थियो।
राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक २०७५ सालमा संसदमा दर्ता गरेको थियो।












