Kathmandu Press

कपिलवस्तुमा दुग्ध उत्पादनः खेतमा फाल्दै, छिमेकीलाई बाँड्दै

कपिलवस्तु, चैत २८ : कोभिड–१९ को सम्भावित संक्रमण रोक्न नेपाल सरकारले देशैभर लकडाउन घोषणा गरेपछि कपिलवस्तुको ग्रामीण क्षेत्रका पशुपालक किसान प्रभ....

कपिलवस्तुमा दुग्ध उत्पादनः खेतमा फाल्दै, छिमेकीलाई बाँड्दै

कपिलवस्तु, चैत २८ : कोभिड–१९ को सम्भावित संक्रमण रोक्न नेपाल सरकारले देशैभर लकडाउन घोषणा गरेपछि कपिलवस्तुको ग्रामीण क्षेत्रका पशुपालक किसान प्रभावित भएका छन्। उत्पादित दूधसमेत बिक्री नहुँदा पशुपालक किसानले ठूलो नोक्सानी ब्यहोर्नुपरेको छ।

कपिलवस्तुमा किसानले उत्पादन गरेको दूध नबिकेपछि खेतमा फाल्नुपर्ने अवस्थासमेत सिर्जना भएको छ। वाणगङ्गा नगरपालिका– ४ मा रहेको ट्विन्स डेरी उद्योगले दुई दिनमा  १६ हजार लिटर दूध खेतमा फाल्नुपरेको बताएको छ। दुग्ध विकास संस्थानले दूध नकिनेपछि बाध्य भएर बारीमा फाल्नुपरेको सञ्चालक इन्दिरा पौडेलले बताइन्।

वाणगङ्गा नगरपालिका, व्यावसायिक पशुपालन समितिका सचिव तथा सक्रिय कृषक जयलाल गिरीका गोठमा पैँसठ्ठी बाख्रा र अठ्चालीस गाईभैँसी छन्। घाँस पनि पर्याप्त मात्रामा उत्पादन हुन नसक्नु र दानाको अयातनिर्यात नै बन्द भई पशुलाई पर्याप्त खाना दिन नसक्दा उत्पादनमा ८० प्रतिशत गिरावट भएको उनको गुनासो छ। गिरीले भने, 'अब गोठमा बाँधिएका गाईभैँसी तथा बाख्रालाई कसरी जोगाउने भन्ने ठूलो चिन्ता छ।' उनका अनुसार पहिले खर्च कटाएर पनि मासिक एक लाख रुपैयाँसम्मको आम्दानी हुने सो व्यवसायमा अहिले ८० प्रतिशत घाटा भइरहेको छ। 

वडा नम्बर–८ बोडगाउँका खुमानन्द पौडेलले २४  गाई पालेका छन्। उनले यसअघि गाईपालनबाट मासिक ८० हजार रुपैयाँ आम्दानी गर्दै आएका थिए। यतिबेला दूध उत्पादन घट्नु तथा बन्दाबन्दीले दाना पाउन नसक्नुले आम्दानी घटेको छ। 
वाणगङ्गा क्षेत्रमा मात्र झण्डै तीन सय पशु फार्म दर्ता भए पनि हाल डेढ सयभन्दा बढी मात्र सक्रिय रहेको नगरका पशु शाखा प्रमुख राजकुमार तिवारीले बताए। तिनमा तीन ठूला र चारपाँच साना डेरी छन्। लकडाउन खुलेपछि प्रभावित किसानको समस्या सम्बोधनका लागि नगरपालिकाले योजना बनाउने तिवारीले जानकारी दिए।  

जिल्लाभित्रका पशुपालक किसानको पीडा उस्तै भएको कपिलवस्तु जिल्लाका भेटेरीनरी पशु चिकित्सक दुर्गाप्रसाद खनालको भनाइ छ। कोरोनाको त्रासले बजारमा माग कमी भएकाले दूध तथा मासुजन्य खाद्य पदार्थले बजार मूल्य नपाउँदा यतिबेला किसान प्रत्यक्षअप्रत्यक्ष मारमा परिरहेको खनालले बताए। दानाका लागि भारतबाट कच्चा पदार्थ आउन नसक्दा नेपालका  उद्योग धरापमा पर्ने अवस्था आउने उनको भनाई छ।

प्रकाशित मिति: १३:११ बजे, शुक्रबार, चैत २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्