Kathmandu Press

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सातै जनाको शव काठमाडौं ल्याइयो

काठमाडौं, फागुन १६ : ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै ....

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सातै जनाको शव काठमाडौं ल्याइयो

काठमाडौं, फागुन १६ : ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याइएको छ ।

ताप्लेजुङको सुकेटार विमानस्थलबाट नेपाली सेनाको हेलिकप्टरले सातै जनाको शव आज अपराह्न १ः२५ बजे त्रिभुवन विमानस्थलमा ल्याएको हो ।  त्रिभुनव विमानस्थलबाट सातै जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महराजञ्ज लगिएको छ । उनीहरुको शव छुट्टाछुट्टै वाहनमा राखेर शिक्षण अस्पताल लगिएको हो ।

तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली काठमाडौंबाट बुधबार बिहान साढे ८ बजे तेह्रथुम गएको थियो । कार्यक्रम सकेर ताप्लेजुङको पाथीभर पुगेको टोली फर्किने क्रममा नजिकैको दारेभिरमा दुर्घटनामा भएको थियो ।

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरेको मृत्यु भएको हो ।

सातैजनाको शव बुधबार र बिहीबार सेनाको हेलिकप्टरबाट ताप्लेजुङको सुकेटार विमानस्थलमा ल्याइएको थियो । त्यहाँबाट आज काठमाडौं ल्याइएको हो ।

पोस्टमार्टम पछि सातैजनालाई राष्ट्रिय सम्मान अर्पण गरिने छ ।

प्रकाशित मिति: १३:४५ बजे, बिहीबार, फागुन १६, २०७५