पाल्पामा समलिंगी विवाहले पायो कानूनी मान्यता
समलिंगी विवाह दर्ता पहिलो पटक भएकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरेर गत आइतबार विवाह दर्ताको प्रमाणपत्र प्रदान गरिएको वडा सचिव खानले जानकारी दिए।पाल्पा, भदौ ५ : पाल्पाको रामपुर नगरपालिकामा समलिंगी विवाह दर्ता भएको छ। रामपुर वडा नं ९ को कार्यालयमा ३१ वर्षीया चिनाकुमारी नेपाली र ३६ वर्षीया ज्योति सार्कीले समलिङ्गी विवाह दर्ता गरेसँगै कानूनी रुपमा समलिंगी विवाहले मान्यता पाएको छ।
रामपुर–९ का स्थानीय पञ्जीकाधिकारी एवं वडा सचिव मोहम्मद युनुस खानले विवाह दर्ताका लागि चिनाकुमारी र ज्योतिले निवेदन दिएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्रका आधारमा विवाह दर्ता प्रमाणपत्र जारी गरिएको बताए।
समलिंगी विवाह दर्ता पहिलो पटक भएकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरेर गत आइतबार विवाह दर्ताको प्रमाणपत्र प्रदान गरिएको वडा सचिव खानले जानकारी दिए।
चिनाकुमारी रामपुर–९ जब्गादी निवासी र ज्योति नवलपुर, बौदिकाली गाउँपालिका–१ मिथुकरम निवासी हुन्। चिनाकुमारी र ज्योतिले २०७८ असोज २९ गते परम्पराअनुसार पाल्पाको सिद्धबाबा मन्दिरमा विवाह गरेका थिए।
वडा कार्यालयमा विवाह दर्ता गरेपछि मात्रै कानुनी रूपमै उनीहरु विवाह बन्धनमा बाँधिएका छन्। चिनाकुमारी र ज्योति लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए।
विवाह दर्ताको अस्थायी प्रमाणपत्रमा चिनालाई दुलहा र ज्योतिलाई दुलही उल्लेख गरिएको छ। दुवै जना वैदेशिक रोजगारीका क्रममा कतारमा छन्। । उनीहरुले घर आएको समयमा विवाह दर्ता गराएका हुन्।