उद्योगमन्त्रीसँग बेलायती राजदूत फेनको शिष्टाचार भेट
औद्योगिक विकास, प्रवर्द्धन तथा प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्नका लागि पनि नेपाललाई सहयोग आवश्यक पर्ने उनले बताए।
काठमाडौं, साउन ३२ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेट गरेका छन्।
सिंहदरबारमा भएको भेटमा उनीहरूबीच नेपाल–बेलायतबीच रहीआएको आपसी सम्बन्ध, नेपालको आर्थिक विकास, सुशासन एवं मानवीय सहायतालगायत विविध विषयमा छलफल भएको थियो।
सो अवसरमा भेटमा मन्त्री भण्डारीले नेपाल सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने लक्ष्य लिएको बताउँदै यस अभियानमा नेपाललाई सघाउन आग्रह गरे। औद्योगिक विकास, प्रवर्द्धन तथा प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्नका लागि पनि नेपाललाई सहयोग आवश्यक पर्ने उनले बताए।
मन्त्री भण्डारीले उद्योग, पर्यटन, सूचना प्रविधिलगायतका उत्पादनमूलक क्षेत्रको विकास तथा निर्यात अभिवृद्धि सरकारको प्राथमिकताको क्षेत्र भएको बताए। उनले जडिबुटी, पश्मिना, चिया, तयारी पोशाक, गलैंचालगायत प्राथमिकतामा परेका निर्यातयोग्य वस्तुको प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको बताए।
भेटमा राजदूत फेनले मन्त्री भण्डारीलाई पुनःनियुक्तिको लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले आगामी दिनमा दुई देशबीचको व्यापार, लगानी, पर्यटन र शिक्षाको क्षेत्र थप विस्तार, सुदढ र सन्तुलित हुने विश्वास व्यक्त गरे।
बेलायतको नयाँ गठित सरकारले द्विपक्षीय साझेदारीलाई प्राथमिकतामा राखेको र नेपालसँग थप साझेदारीका कार्यक्रममा अगाडि बढाउँदै लगानी तथा व्यापार अभिवृद्धि गर्न क्रियाशील रहने प्रतिबद्धता राजदूत फिनले व्यक्त गरे।










![टियुमा संयुक्त विद्यार्थी संंगठनको प्रदर्शन [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-7_6660a5dd-1777364151.jpg)

