‘मुलुकलाई अगाडि बढाउन संविधान संशोधन आवश्यक छ’
उनले मुलुकलाई विकास, समृद्धि र स्थिरताको बाटोमा अगाडि बढाउन संविधानका केही प्रावधानलाई संशोधन गर्न आवश्यक रहेको समेत बताए।
काठमाडौं, साउन ३२ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले र कांग्रेसबीच भएको सहमतिले मुलुकमा देखिएको राजनीतिक अस्थिरता अन्त्यको सुरुआत गरेको बताएका छन्।
नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको ‘काठमाडौँ सहरीकरणः वर्तमान प्रवृत्ति, योजना र लगानी’ विषयक अन्तरक्रियामा उनले दुई पार्टीले मुलुकलाई नयाँ गन्तव्यमा पुर्याउन चाहेको बताए।
उनले मुलुकलाई विकास, समृद्धि र स्थिरताको बाटोमा अगाडि बढाउन संविधानका केही प्रावधानलाई संशोधन गर्न आवश्यक रहेको समेत बताए।
‘शासकीय स्वरूप र निर्वाचन प्रणालीमा देखापरेका समस्या तथा संविधानमा कतिपय कुरा मिलाउनुपर्ने छन्। यसबीचमा संविधानको व्यवहारिक अभ्यासका क्रममा देखापरेका संगति नमिलेका कुराहरू सच्याउने अवसर पनि छ,’ उनले भने, ‘विज्ञहरूले यति बेला मन खुलाएर कहाँ कहाँ सच्च्याउनुपर्ने हो, त्यस विषयमा सुझाव दिन जरूरी छ। त्यसैले म देश विकासका लागि राजनीतिक प्रणालीमा के–के गर्न आवश्यक छ, त्यसमा पनि सुझावका लागि आग्रह गर्दछु।’
पोखरेलले काठमाडौं, ललितपुर र भक्तपुरको एकीकृत विकासका लागि भू–उपयोग नीति आवश्यक रहेको उल्लेख गरे।
‘काठमाडौंमा बस्ती बसाउन कहाँ, खेतीपाती गर्ने कहाँ? बजार बसाउन कहाँ? भनेर भूउपयोग नीति प्रभावकारी ढंगबाट लागू गर्नुपर्दछ,’ उनले भने, ‘अहिलेको जस्तो जसले, जसरी, जे गरे पनि छुट पाउने अववस्था रहनुहुँदैन। त्यसैले भूउपभोग नीति कार्यान्वयन हुनुपर्छ।’












