काठमाडौं महानगरले दियो ३१ हजार बढीलाई राहत, विदेशबाट फर्किएकाको विवरण संकलन
काठमाडौं, चैत २७ : काठमाडौं महानगरपालिकाले बुधबारसम्म ३१ हजार १ सय ८४ जनालाई राहत वितरण गरेको छ।
राहत वितरणलगायतका विषयमा समीक्षा गर्न ....

काठमाडौं, चैत २७ : काठमाडौं महानगरपालिकाले बुधबारसम्म ३१ हजार १ सय ८४ जनालाई राहत वितरण गरेको छ।
राहत वितरणलगायतका विषयमा समीक्षा गर्न बिहीबार बसेको नगर कार्यपालिकाको चवालिसौँ बैठकमा पनि यो विषयमा जानकारी गराइएको थियो। नगर कार्यपालिकाको त्रिचालिसौँ बैठकले कोरोना भाइरससम्बन्धी राहत वितरण मापदण्ड–२०७६ पारित गरेको थियो।
त्योसँगै काठमाडौँ महानगपालिकाभित्र बसोवास गर्दै आएका असहाय, अतिविपन्न र दैनिक ज्यालदारी गर्ने व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई राहत उपलब्ध गराउने कामलाई महानगरपालिकाले तीव्रता दिँदै आएको थियो।
राहत वितरणसँगै फागुन १८ पछि विदेश भ्रमण गरी महानगरपालिका क्षेत्रभित्र बसोवास गर्दै आएकाहरुको विवरण संकलनलाई पनि महानगरपालिकाले तीव्रता दिँदै आएको थियो। बैठकमा चैत २६ गतेसम्म काठमाडौं महानगरपालिकाले यसरी बसोवास गर्दै आएका १ सय ३४ जनाको विवरण संकलन गरेको लगायतका विषयमा पनि जानकारी गराइएको थियो।
बुधबारसम्मको तथ्याङ्क अनुसार वडा नम्बर ३१ ले सबैभन्दा बढी अर्थात ३ हजार ८ सयलाई राहत वितरण गरेको छ। त्यसैगरी वडा नम्बर ७ ले २ हजार ३ सय ९६ लाई राहत वितरण गरेको छ। वडा नम्बर १० ले पनि २ हजार २०, १६ ले १७ सय १९, १५ ले १५ सय २० र वडा नम्बर ६ ले १४ सय ७६ लाई वितरण गरेका छन्।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अहिलेसम्म भएको राहत वितरणलगायतका विषयमा समीक्षा गर्न बैठक बसेको जानकारी दिए। ‘अहिलेसम्म राहत वितरणमा भएका कमीकमजोरी, राहत वितरणका क्रमा देखिएका समस्यालगायतका विषयमा छलफल गर्न बैठक बोलाइको हो,’ प्रमुख शाक्यले भने, ‘राहत वितरणलाई अझ प्रभावकारी बनाउन के–गर्नुपर्ला भन्ने विषयमा पनि छलफल भयो। महानगरपालिका आगामी दिनमा कोरोना संक्रमण फैलिन नदिन अझ प्रभावकारी ढंगले अघि बढ्छ।’
पछिल्लो तथ्याङ्क अनुसार काठमाडौं महानगरपालिकाले ३७ हजार ७ सय ९० जनालाई राहत वितरण गर्नुपर्ने भनी पहिचान गरेको छ। २४ हजार ३ सय १९ जनालाई आफ्नै स्रोतबाट राहत वितरण गरेको छ भने विभिन्न स्रोतबाट ६ हजार ८ सय ६५ जनालाई वितरण गरेको छ। काठमाडौं महानगरपालिकाले राहत वितरणलाई एकद्वार प्रणालीबाट गर्ने निर्णय गरेसँगै विभिन्न संघसंस्थाले पनि जुन वडामा राहत वितरण गर्ने हो त्यहिका जनप्रतिनिधिसँग समन्वय गरेर मात्रै वितरण गर्दै आएको महानगपालिकाले जानकारी दिएको छ।
त्यसो त महानगरपालिकाले एकद्वार प्रणालीबाट राहत वितरण गरेका कारण संघीय सांसद, प्रदेश सांसदलले पनि समन्वय गरेर नै वितरण गर्ने गरेका छन्। केही दिनअघि मात्रै वडा नम्बर २९ ले राहत वितरण गरेको थियो। कालिञ्चोक मार्ग, रुद्रमती मार्ग, सहयोग मार्गलगायतका ठाउँमा रहेका अति विपन्न, असहाय र दैनिक ज्यालामजदुरी गरेर खानेहरुलाई गरिएको राहत वितरण कार्यक्रममा संघीय सांसद एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह पनि सहभागी थिए।










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
