ठिक ढंगले काम गर्न नसक्दा भ्रष्टाचार बढिरहेको छ : मन्त्री गुरुङ
उनले भ्रष्टाचार भइरहने, बिचौलियाको प्रभाव बढिरहने र जनताको आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने खालको परिस्थिति रहेको भन्दै त्यसलाई अन्त्य गर्न मिडियाको ठूलो भूमिका रहने बताए।-1723806413.jpg)
काठमाडौं, साउन ३२ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा सुशासनको अभाव र ठिक ढंगले काम नसक्दा भ्रष्टाचार बढिरहेको बताएका छन्।
शुक्रबार राष्ट्रिय समाचार समितिको ‘रासस मिडिया संग्रहालय’ शुभारम्भ गर्दै उनले भ्रष्टाचार भइरहने, बिचौलियाको प्रभाव बढिरहने र जनताको आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने खालको परिस्थिति रहेको भन्दै त्यसलाई अन्त्य गर्न मिडियाको ठूलो भूमिका रहने बताए।
‘सुशासनको अभावका कारणले भनौं अर्थात ठिक ढंगले काम नसक्दा भ्रष्टाचार बढिरहेको छ। भ्रष्टाचार नियन्त्रण गर्ने सरकारको दायित्व हो,’ उनले भने ‘भ्रष्टाचारहरु भइरहने, बिचौलियाको बिगबिगी भइराख्ने जनताको चाँही आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने खालको परिस्थिति छ। यस्तो परिस्थितिबाट मुक्त हुनको लागि मिडियाको ठूलो भूमिका छ।’
उनले बजेटको ३० प्रतिशत विकास बजेट छुट्याए पनि १५ प्रतिशत मात्रै खर्च भएको भन्दै त्यसले देश बन्न नसक्ने बताए।
मन्त्री गुरुङले पत्रकारको काम सरकारको आचोचना मात्र गर्ने नभएर आलोचनासँगै सत्य तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न सुझाव दिए। जनताको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन पनि सञ्चारमाध्यमले सरकारलाई खबरदारी गर्नु अपरिहार्य रहेको मन्त्री गुरुङले बताए।
‘वर्तमान सरकार जनताप्रति बढी उत्तरदायी र जवाफदेही हुन खोजिरहेको छ, यसतर्फ सञ्चार जगत्को रचनात्मक सहयोग आवश्यक छ,’ उनले भने।
उनले अमर्यादित अभ्यासले सिंगो पत्रकारिता क्षेत्रमाथि नै प्रश्न उठिरहेको सन्दर्भमा पत्रकारितालाई व्यवस्थित, मर्यादित तथा रचनात्मक बनाउन सबै पक्ष सजग र सचेत हुनुपर्ने धारणा बताए।












