विकासको लहर ल्याउने गरी ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन
‘धेरै काम गर्दा समस्या आउँछन्, अख्तियारमा बयान दिनुपर्ला भनेर नडराऔँ । गल्ती वा भ्रष्टाचार गरिएन भने कुनै समस्या आउँदैन।’
काठमाडौं, साउन ३१ : प्रधानमन्त्री केपी ओलीले आगामी तीन महिनाभित्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्खे खालका ठोस योजना ल्याउन निर्देश गरेका छन्।
मन्त्रालयहरुको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयनका साथै सरकारको एक सय दिनभित्र गरिने मुख्य कामबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको प्रस्तुतिपछि सम्बोधन गर्दै उनले देश र जनताका लागि गर्नुपर्ने र गर्न खोजिएका कामका सम्बन्धमा अझ व्यवस्थित र ठोस तयारी गर्न निर्देशन दिएका हुन्।
उनले विकास खर्च शतप्रतिशत गर्न सक्ने हो भने अर्थतन्त्र चलायमान बनाउन सकिने बताए।
‘हामी जागिर खाइरहेका छैनौं। देश र जनताको सेवा र विकासका लागि काम गरिरहेका छौं। भावी सन्ततीका लागि काम गरिरहेका छौं। यो सेवाको तुलना पारिश्रमिकसँग हुनसक्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो लक्ष्य निर्धारण काल्पनिक नभइ वस्तुगत हुनुपर्छ। पूरा गर्न कठिन हुन्छ भनी कमजोर लक्ष्य राख्न हुन्न।’
उनले अबका तीन महिनामा इतिहासका विगतमा भन्दा बढी मेहनतका साथ काम गरेर देखाउनुपर्ने समय आएको बताए। भने, ‘धेरै काम गर्दा समस्या आउँछन्, अख्तियारमा बयान दिनुपर्ला भनेर नडराऔँ । गल्ती वा भ्रष्टाचार गरिएन भने कुनै समस्या आउँदैन।’
प्रधानमन्त्री ओलीले डिजिटल नेपालको फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन, व्यवासायिक तालिम, विषादी र मिसावटरहित खाद्य पदार्थको आपूर्ति गराउन, उपकरण र स्रोत साधनको पूर्ण उपयोगमा ध्यान दिन निर्देशन दिए।












