Kathmandu Press

जाजरकोट र बझाङ भूकम्पपछिको पुनःनिर्माण प्राथमिकतामा गृहमन्त्री लेखक

राष्ट्रिय सभाको बिहीबारको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले भूकम्पपछिको राहत र पुनःस्थापनाका लागि विभिन्न निकायबाट रकम निकासा भएकाले सरकारले केही कानुनी प्रबन्धहरू बनाएर अघि बढिरहेको जानकारी दिए। 
जाजरकोट र बझाङ भूकम्पपछिको पुनःनिर्माण प्राथमिकतामा गृहमन्त्री लेखक
फाइल तस्बिर।

काठमाडौं, साउन ३१ : गृहमन्त्री रमेश लेखकले गतवर्ष जाजरकोट र बझाङ गएको भूकम्पपछिको पुनःनिर्माणलाई प्रभावकारी रुपमा अघि बढाउने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन्। 

राष्ट्रिय सभाको बिहीबारको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले भूकम्पपछिको राहत र पुनःस्थापनाका लागि विभिन्न निकायबाट रकम निकासा भएकाले सरकारले केही कानुनी प्रबन्धहरू बनाएर अघि बढिरहेको जानकारी दिए। 

Hardik ivf

‘जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट पहिचान भएका ८५ हजार छ सय ९० लाभग्राहीका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा गत कात्तिक १९ गतेको कार्यकारी प्रमुखस्तरीय निर्णय बमोजिम रुकुम पश्चिम र जाजरकोट जिल्लामा समान पाँच करोडसहित तीन अर्ब १६ करोड निकासा भएको छ,’ गृहमन्त्री लेखकले भने, ‘जिल्ला विपद् व्यवस्थापन समितिबाट रु दुई अर्ब २५ करोड पाँच लाख २५ हजार स्थानीय विपद् व्यवस्थापन समितिको कोषमा निकासा भएको छ । स्थानीय विपद् व्यवस्थापन समितिबाट प्रक्रिया पूरा गरेका ७७ हजार ३३ लाभग्राहीका लागि पहिलो किस्ताबापत एक अर्ब ९२ करोड ५८ लाख २५ हजार लाभग्राहीको खातामा निकासा भइसकेको छ।’

पहिचान भएका लाभग्राहीमध्ये नौ हजार पाँच सय ८४ का लागि जिल्ला विपद् व्यवस्थापन समितिबाट २३ करोड ९६ लाख निकासा भएको मन्त्री लेखकले जानकारी दिए। उनका अनुसार बझाङका एक हजार दुई सय ५५ लाभग्राहीले तीन करोड १३ लाख ७५ हजार दोस्रो किस्ताबापत प्राप्त गरिसकेका छन्। अन्य जिल्लामा दोस्रो किस्ताबापतको रकम वितरण भएको प्रतिवेदन आउने क्रममा रहेको गृहमन्त्री लेखकले जनाए।

अस्थायी आवास निर्माणका लागि करिब रु ९० करोड ९४ लाख ७५ हजार जाजरकोट, रूकुम पश्चिम, सल्यान, बझाङ र बाजुराका जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिको कोषमा मौज्दात रहेको लेखकले जानकारी दिए। भूकम्पपछिको पुनःनिर्माणसँग सम्बन्धित कामलाई प्रभावकारी रुपमा अघि बढाउन विभिन्न कानुनी व्यवस्था गरिएको उनले उल्लेख गरे। 

गत वैशाख २१ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२औँ बैठकले ‘विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०८१’ संशोधन गर्न अर्थ मन्त्रालयमा सहमतिका लागि पठाइएकोमा त्यसको सहमति प्राप्त भएको गृहमन्त्री लेखकले बताए। 

विभिन्न विपद्बाट घर क्षतिग्रस्त भई बस्न नमिल्ने भएका विपद् प्रभावित व्यक्तिका लागि अस्थायी आवास निर्माण अनुदान मापदण्ड, २०८१ मन्त्रिपरिषदमा स्वीकृतिका लागि पठाउने तयारी भइरहेको पनि लेखकले जनाए।

प्रकाशित मिति: १६:२३ बजे, बिहीबार, साउन ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्