द्वन्द्व फेरि नदोहोरिने सुनिश्चितता हुनुपर्छ : अध्यक्ष लिङ्देन
‘अब यस्तो घटना देशमा कहिल्यै नदोहोरिने सुनिश्चिता गर्नुपर्छ। कसैले पनि राज्यव्यवस्थासँग चित्त नबुझ्दा अब म बन्दुक उठाउँछु, मान्छे मार्छु भन्न नपरोस्,’ उनले भने, ‘यही प्रणालीभित्र विकल्प खोज्ने सुनिश्चितता होस्।’
काठमाडौं, साउन ३० : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनयुद्ध, विद्रोहजस्ता द्वन्द्व नदोहोरिने सुनिश्चितता गर्नुपर्ने बताएका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा टिआरसी विधेयकमाथिको छलफलमा भाग लिँदै विद्रोही वा सरकार पक्षभन्दा बाहिरका पनि बढी पीडित भएको बताए।
‘अब यस्तो घटना देशमा कहिल्यै नदोहोरिने सुनिश्चिता गर्नुपर्छ। कसैले पनि राज्यव्यवस्थासँग चित्त नबुझ्दा अब म बन्दुक उठाउँछु, मान्छे मार्छु भन्न नपरोस्,’ उनले भने, ‘यही प्रणालीभित्र विकल्प खोज्ने सुनिश्चितता होस्।’
भ्रष्टाचार र हिंसा गर्नेहरु ढिलो चाँडो दण्डित हुनुपर्छ भन्ने सुनिश्चितता हुनुपर्ने बताउँदै अध्यक्ष लिङ्देनले पीडितहरूको पक्षमा आवाज उठाइरहने बताए।
राजाले राजगद्दी छाडेकाले शान्ति प्रक्रिया निष्कर्षमा पुगेको बताउँदै उनले दलहरुले राजालाई सम्झनु पर्ने बताए।
‘सम्झौताको एउटा पक्ष तत्कालीन राजा पनि हुनुहुन्थ्यो। तपाईहरुले आज राजालाई सम्झिनुपर्थ्यो। जसले राजगद्दीलाई छोड्न तयार भएर शान्ति प्रक्रियालाई साथ दियो, यति पूर्वाग्रही हुनुहुन्न,’ उनले भने।