नीति पालना नगर्ने सदस्यलाई सभाबाटै निकाला गर्नुपर्छ : वामदेव गौतम
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्नेबारे सरोकारवालाहरुसँगको छलफलमा उनले मुलुकमा सुशासन कायम गर्न प्रतिनिधि, राष्ट्रिय सभा र प्रदेश सभाहरुमा समेत नीति कार्यान्वयन नगरे पदबाट विदा हुनेगरि नीति ल्याउनुपर्ने बताए।
काठमाडौं, साउन ३० : राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सदस्यहरुले नीति पालना नगरे सभाबाटै विदा गर्नेगरि नीति ल्याउनुपर्ने बताएका छन्।
बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्नेबारे सरोकारवालाहरुसँगको छलफलमा उनले मुलुकमा सुशासन कायम गर्न प्रतिनिधि, राष्ट्रिय सभा र प्रदेश सभाहरुमा समेत नीति कार्यान्वयन नगरे पदबाट विदा हुनेगरि नीति ल्याउनुपर्ने बताए।
सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सदाचार नीति अपरिहार्य रहेको उनको भनाइ छ।
‘राष्ट्रिय सभाका सदस्यहरुको सदाचार नीति के हुन्छ? यदि त्यो पालना गरेको छैन भने राष्ट्रिय सभाबाट विदा हुनुपर्दछ। प्रतिनिधिसभा, प्रदेश सभालगायत कुन ठाउँमा त्यस्तो छ त्यही हुनुपर्दछ,’ उनले भने, ‘हामी सुशासन कायम गर्न चाहान्छौं। हामी हाम्रो संस्कृतिलाई उन्नत बनाउने र सभ्य बनाउन चाहान्छौं भने त्यसका लागि कँहि न कँहिबाट जोडबल दिन आवश्यक छ। सभ्य र सुसंस्कृत नेपाली जनताको लागि हामीले सदाचार नीति आवश्यक छ यसमा गहन छलफल हुनुपर्दछ।’
समाज, विद्यार्थी, सुरक्षा लगायतका क्षेत्रहरु तोकेर सदाचार नीति बनाउनुपर्ने उल्लेख गर्दै उनले यसका लागि विज्ञहरुसँग छलफल गर्नुपर्ने बताए।
‘आचरण र आचारसहिंता व्यक्तिले लागु गर्ने हो, संस्थालाई पनि व्यक्ति मानेर गराउनुपर्छ। यो संस्थाले पालना गर्नुपर्ने भनेर व्यक्तिलाई जसरी भन्न सकिन्छ,’ उनले भने, ‘सधैंभरि हामी यसबारे छलफल गर्ने तर नहुने हो भने राष्ट्रिय सभाले केही विज्ञहरुलाई अगाडि सारेर सदाचार नीति नै बनाउनुपर्छ। परिवार, विद्यार्थी, सेना प्रहरी र कर्मचारीहरुको लागि जस्तै क्षेत्रहरु तोकेर सदाचार नीति लागु गर्नुपर्दछ।’












