कुलमानमाथि भ्रष्टाचारमा छानविनका लागि रमेश खरेलले दिए अख्तियारमा उजुरी
विद्युत् नियमन आयोगको स्वीकृतिबिना विभिन्न कम्पनीसँग पीपीए गरिएको र विद्युत् नियमन आयोगको खातामा जम्मा गर्नुपर्ने रकम गुमाउनुपरेको कारण दर्शाउँदै भ्रष्टाचारमा छानविन र कारबाहीको माग गरिएको छ।काठमाडौं, साउन २२ : पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंगलबार उजुरी दिएका छन्।
सामाजिक अभियन्ता समेत रहेका खरेलले दिएको उजुरीमा राज्यलाई करोडौं रुपैयाँ घाटा हुने गरी विद्युतको पीपीए गरेको दाबी गरिएको छ। कानुन मिचेर ६६ कम्पनीसँग पावर पर्चेज एग्रिमेण्ट (पीपीए) गरिएको जिकिर उजुरीमा छ।
कुलमानको निर्णयका कारण राज्यलाई १ करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व घाटा भएको भनाई खरेलको छ। खरेलले उजुरीको व्यहोरा सामाजिक सञ्जालमा राखेका छन्।
विद्युत् नियमन आयोगको स्वीकृतिबिना विभिन्न कम्पनीसँग पीपीए गरिएको र विद्युत् नियमन आयोगको खातामा जम्मा गर्नुपर्ने रकम गुमाउनुपरेको कारण दर्शाउँदै भ्रष्टाचारमा छानविन र कारबाहीको माग गरिएको छ।
‘२०७४ मङ्सिर १७ गतेबाट विद्युत् नियमन ऐन लागू भए पनि कुलमानले भने ६२ वटा ऊर्जा उत्पादकसँग २०७५ मा र ४ वटा ऊर्जा उत्पादकसँग २०७६ सालमा पीपीए गराएका थिए,’ उजुरीमा उल्लेख छ, ‘ऐन र नियमावलीको बर्खिलाप हुने गरी प्राधिकरणका हाकिम अगाडि बढे पनि ऊर्जा मन्त्रालय र २०७६ मा स्थापित विद्युत् नियमन आयोगले यस बिषयमा ठोस् पहल गर्न सकेका छैनन् । यस्ता प्रवृत्तिलाई राज्यका निकाय नै मौन बसेर समर्थन गर्दा अनियमितता र भ्रष्टाचारको ग्राफ अझै उकालो लाग्नेमा कुनै सन्देह छैन ।’