Kathmandu Press

सुकेटार विमानस्थलमा हिमपात, शव पठाउँन ढिलाइ

सुकेटार, फागुन १५ : ताप्लेजुङको सुकेटार विमानस्थलमा भारी हिमपात भएको छ । बिहीबार बिहानदेखि हिमपात भएकाले शव काठमाडौं पठाउँन ढिलाइ भएको छ ।

ब....

सुकेटार विमानस्थलमा हिमपात, शव पठाउँन ढिलाइ

सुकेटार, फागुन १५ : ताप्लेजुङको सुकेटार विमानस्थलमा भारी हिमपात भएको छ । बिहीबार बिहानदेखि हिमपात भएकाले शव काठमाडौं पठाउँन ढिलाइ भएको छ ।

बुधबार पाथीभराबाट फर्किने क्रममा भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो । उनीहरुको शव बुधबार र बिहीबार गरी नेपाली सेनाको हेलिकप्टरबाट सुकेटार विमानस्थल ल्याइएको छ ।

आज बिहानदेखि भारी वर्षा र हिमपात भएपछि दुर्घटनामा मृत्यु भएका मन्त्री अधिकारी सहित सात जनाको शव सुकेटारबाट काठमाडौं पठाउँन ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए । हिमपातका कारण सुकेटार विमानस्थलमा उडान तथा अवतरण गर्न समस्या भएको छ ।

हिमपात र वर्षा जारी रहेको छ । मौसम सुध्रिने वितिक्कै शव काठमाडौं पठाइने जनाएको छ ।

हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिरकणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरे र हेलिकप्टरका पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।

ताप्लेजुङ जिल्ला अस्पतालमा पोस्टमार्टम गर्न नसकिने भएपछि जिल्ला सुरक्षा समितिको बैठकले काठमाडौंमै पोस्टमार्टम गर्ने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति: ११:५५ बजे, बिहीबार, फागुन १६, २०७५