प्राधिकरणका महानिर्देशक अधिकारीले समितिमा भने– ‘भिजुअल फ्लाइट’ नियम उल्लंघन गर्दा हेलिकप्टर दुर्घटना
उनले फ्लाइटले बादलभित्र प्रवेश गर्न नहुने र आँखाले देख्न नसकिने ठाउँमा प्रवेश गर्न नहुने नियम उलंघन गरेको प्रारम्भिक रुपमा देखिएको बताए।
काठमाडौं, साउन २४ : एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुनुमा भीएफआर (भिजुअल फ्लाइट रुल्स) उल्लंघन रहेको दाबी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गरेका छन्।
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बिहीबार भएको छलपलमा महानिर्देशक अधिकारीले उक्त दाबी गरेका हुन्।
उनले फ्लाइटले बादलभित्र प्रवेश गर्न नहुने र आँखाले देख्न नसकिने ठाउँमा प्रवेश गर्न नहुने नियम उलंघन गरेको प्रारम्भिक रुपमा देखिएको बताए।
‘यसको रुट कज छानबिन आयोगले बताउला, सर्सर्ती हेर्दा ब्याड वेदरमा प्रवेश गरेको, बादलभित्र प्रवेश गरेको कारणले फर्किने क्रममा देब्रे घुम्दा दुर्घटना भएको जस्तो देखिन्छ,’ उनले भने, ‘फ्लाइटिङ कमान्डले सिभिल एभिएसनको भिजुल फ्लाइट रुलअनुसार यसरी बादलभित्र छिर्नु अथवा आफूले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो। यो कानुनले बर्जित गरेको विषय हो।’
काठमाडौंबाट स्याफ्रुबेंसीका लागि उडेको एयर डाइनेस्टी ९ एन–एजेडी कलसाइनको हेलिकप्टर बुधबार नुवाकोट, शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा दुर्घटनामा पेको थियो। दुर्घटनामा एयर डाइनेस्टीका वरिष्ठ क्याप्टेन अरुण मल्ल, चिनियाँ नागरिकहरू टाङ जुटाओ, वु यियाओ, ली जेई र सेई जिमिङको मृत्यु भएको थियो।












