‘कांग्रेस–एमाले मिल्दा टीआरसीमा १८ वर्षपछि ब्रेक थ्रू भयो’
बुधबार कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा उनले १८ वर्षदेखि पूरा हुन नसकेका र ९ वर्षदेखि कानुन नै बन्न नसकेको विषयलाई समाधानको बाटोमा अघि बढाउन सफल भएको बताए।
काठमाडौं, साउन २३ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गृहमन्त्री रमेश लेखकले कांग्रेस–एमाले मिल्दा संक्रमणकालीन न्याय सम्बन्धी कानून निर्माणमा १८ वर्षपछि ब्रेक थ्रू हुने स्थिति बनेको बताएका छन्।
बुधबार कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा उनले १८ वर्षदेखि पूरा हुन नसकेका र ९ वर्षदेखि कानुन नै बन्न नसकेको विषयलाई समाधानको बाटोमा अघि बढाउन सफल भएको बताए।
बैठकमा उनले पछिल्लो सरकार गठन र काम कारबाहीका विषयमा ब्रिफिङ गरेका थिए। गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई निष्कर्षतर्फ अघि बढाउनु वर्तमान सरकारको पहिलो सफलता भएको बताए।
‘यो गठबन्धन बनेपछि सकारात्मक परिणामहरु देखिन थालिसकेका छन्। हामीले आज मात्रै संक्रमणकालीन न्याय सम्बन्धी विषयमा टुंगिन बाँकी रहेको बेपत्ता पारिएकाहरुको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐनलाई संशोधन गर्ने विधेयकमा ऐतिहासिक ब्रेक थ्रु गरेका छौं,’ उनले भने।
टिआरसी विधेयकको सहमति ठूला राजनीतिक दलहरु मिल्दा मुलुकमा बलियो सरकार बढाएको आत्मविश्वासको प्रतिफल भएको उनले बताए।
गृहमन्त्री लेखकले संविधान जारी भएको ९ वर्ष बितिसकेको अवस्थामा संविधानको अभ्यास गर्दा देखिएका कतिपय समस्याहरुलाई लिएर संविधान संशोधनको आवश्यकता देखिएको बताए।
बैठकमा गृहमन्त्री लेखकले कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमति पढेर सुनाएका थिए।












