स्पेन र फ्रान्स ओलम्पिक पुरुष फुटबलको फाइनलमा
फाइनल पुग्ने क्रममा स्पेनले मोरक्कोमाथि २–१को पुनरागमन जित निकाल्यो भने फ्रान्सले पनि इजिप्टमाथि ३–१को पुनरामगन जित निकाल्यो।काठमडाैं, साउन २२ : स्पेन र घरेलु टोली फ्रान्स ओलम्पिको पुरुष फुटबलको फाइनलमा प्रवेश गरेका छन्। सोमबार राति भएको खेलमा जित निकाल्दै दुवैले फाइनलमा स्थान पक्का गरेका छन्।
फाइनल पुग्ने क्रममा स्पेनले मोरक्कोमाथि २–१को पुनरागमन जित निकाल्यो भने फ्रान्सले पनि इजिप्टमाथि ३–१को पुनरामगन जित निकाल्यो।
फाइनल यात्रा तय गर्नेक्रममा स्पेनका लागि फेर्मिन लोपेज र जुआनलु सान्चेजले गोल गरे। यता, मोरक्कोका सौफियान रहिमीले गोल गरेका थिए।
३७औं मिनेटमा खेलमा मोरक्कोले अग्रता लियो। डिबक्समा स्पेनका खेलाडीले फाउल गरेपछि प्राप्त पेनाल्टीमा रहिमीले गोल गरेका थिए। ६५औं मिनेटमा लोपेजले गोल गर्दै स्पनेलाई खेलमा फर्काए।
त्यसपछि ८५औं मिनेटमा सान्चेजले गोल गर्दै स्पेनलाई २–१को अग्रता दिलाए। त्यसपछि गोल नहुँदा स्पेन विजयी भयो।
अर्को खेलमा फ्रान्सका लागि जिअन फिलिप मटेटाले २ तथा माइकल ओलिसेले गोल गरे भने इजिप्टका महमोउद साबेरले गोल गरेका थिए।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलका ६२औं मिनेटमा साबेरले इजिप्टलाई अग्रता दिलाए। त्यसपछि फ्रान्स दबाबमा परेको थियो। तर, ८३औं मिनेटमा ओलिसको उत्कृष्ट पासमा मटेटाले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
निर्धारित समयमा त्यसपछि गोल नहुँदा खेल १–१को बारबरीमा सकियो, र खेलमा ३० मिनेट समय थप गरियो। थप गरिएको समयको दोस्रो मिनेटमै इजिप्ट १० खेलाडीमा समेटियो। उसका डिफेन्टर ओमर फयद दोहोरो पहुँलो कार्ड खाँदै मैदाबाट बाहिरिएका थिए।
त्यसको फाइदा फ्रान्सले उठायो। ९९औं मिनेटमा मटेटाले हेडिङमार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसपछि १०८औं मिनेटमा ओलिसेले गोल गरेपछि फ्रान्स ३–१को जित सहित ओलम्पिको स्वर्ण पदक नजिक पुगेको छ।
स्पने र फ्रान्सबीचको फाइनल शुक्रबार राति हुनेछ । सोही दिन इजिप्ट र मोरक्को पनि तेस्रो स्थानका लागि भीड्ने छन्।